संक्रामक रोगहरुको जोखिम बढ्योः स्वास्थ्यमन्त्री लामा

साझाकुरा
२०७९ श्रावण १०, मंगलवार १०:१५

हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले संक्रामक रोगहरुको जोखिम बढेको बताएका छन् ।सोमबार बागमती प्रदेश सभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री लामाले पछिल्लो समय देशभर कोरोना भाइरस कोभिड–१९ को संक्रमण संगै अन्य संक्रामक रोगहरुको जोखिम पनि बढेको बताएका हुन् । उनले पछिल्लो दिनहरुमा प्रदेशमा दैनिक २ सय ३४ जनामा कोरोना संक्रमण भइरहेको भन्दै सचेत रहन आग्रह गरे । ‘पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ उप–प्रजातिहरू विश्वव्यापीरुपमा फैलिदै गएसंगै नेपालमा पनि यसको संक्रमण दर बढिरहेको छ ।

बागमती प्रदेशमा दोश्रो लहरपश्चात् दैनिक नयाँ संक्रमितको संख्या घट्दै २० जनाको हाराहारीमा पुगेको अवस्थाबाट हाल पुनः संक्रमण बढ्दै श्रावण ८ गतेको दिनमा आइपुग्दा दैनिक २३४ जना नयाँ संक्रमित पुष्टि भएको छ । मन्त्री लामाले भने, कोभिडको कारणले मानवीय क्षतिका साथै आर्थिक, सामाजिकलगायतका क्षेत्रमा विश्वव्यापीरुपमा अनगिन्ती क्षति पु¥याइरहेको कुरा सर्वविदितै छ । यसको रोकथामको लागि संघीय सरकार संगको समन्वयमा बागमती प्रदेश सरकारले कोभिड बिरुद्धको खोप अभियानलाई तीव्ररुपमा अगाडि बढाइरहेको छ ।’ मन्त्री लामाले संक्रमण दर नियन्त्रण गर्नको लागि प्रदेश सरकारले संघीय सरकारसंगको समन्वयमा कोभिड बिरुद्धको खोप अभियान तीव्ररुपमा सञ्चालन गरिरहेको बताए ।

यसैगरी, मन्त्री लामाले विश्व स्वास्थ्य संगठनले मन्कीपक्स रोगलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल घोषणा गरेको बताउँदै नेपालमा पनि उक्त रोग आउन सक्ने भन्दै तयारी अवस्थामा रहन आवश्यक रहेको बताए । मन्त्री लामाले प्रदेशमा गर्मी तथा वर्षा याममा देखापर्ने संक्रामक रोगहरुको पनि जोखिम रहेको बताए । उनले हालै काठमाडौँ उपत्यका तथा अन्य केहि शहरहरुमा झाडापखालाको प्रकोप देखिएको र परीक्षणको क्रममा हैजा समेत देखिएको बताए ।

उनले पछिल्लो जानकारी अनुसार ३४ जनामा हैजा देखिएकोमा ५ वर्षसम्मका बालबालिकाहरु ३ जना रहेको बताए । मन्त्री लामाले प्रदेशमा विगत केहि वर्षदेखि नेपालमा डेंगु, स्क्रब–टाइफस आदि रोगहरु फैलँदै आएकोले यो वर्ष पनि यी रोगहरु फैलने सम्भावना रहेको बताए । उनले संक्रामक सरुवा रोगहरुको समयमै पूर्वतयारीका साथ रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*