मकवानपुरमा कोरोना संक्रमण बढ्दै
हेटौंडा- देशभर कोरोना संक्रमण बढिरहँदा मकवानपुरमा पनि यसको प्रभाव देखिएको छ । मकवानपुरमा पछिल्लो हप्तादेखि संक्रमित संख्या बढ्दै गएका छन् । जिल्लामा पछिल्लो २ हप्तादेखि दैनिक औसतमा ४ देखि ७ जनाका दरले कोरोना संक्रमण पुष्टि हुन थालेको हो । बुधवार पीसीआर ंर एन्टिजेन परीक्षणबाट ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । २९ जनामा पीसीआर विधिबाट परिक्षण गर्दा ६ जनामा र एन्टिजेन परीक्षणबाट १२ जनामध्ये १ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मंगलबार ३२ जनामा गरिएको परिक्षणमा ४ जनामा कोरोना देखिएको थियो । सोमवार २८ जनामा परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । कोरोना संक्रमित २५ जना होम आइसोलेसनमा उपचार्त छन् । मकवानपुरमा हालसम्म ३ लाख २४ हजार ४ सय ८६ जनाले मात्र कोभिड–१९ विरुद्धको को पूर्ण खोप लगाएका छन् । कोभिड–१९ को पहिलो मात्रा भ्याक्सिन ३ लाख ३७ हजार ९ सय ३७ जनाले लगाए ।
७१ हजार ९१ जनाले थप मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । कोरोनाबाट मकवानपुरमा हालसम्म १ सय ७१ जनाको मृत्यु भएको छ । देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गरिएको थियो ।बुधवार २ हजार ७ सय ७८ जनाको पीसीआर र १ हजार ६ सय ७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ६४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकैदिन २ सय २ जना संक्रमण मुक्त भए ।







