अतिक्रमित संरचना भत्काउने निर्णय स्वागतयोग्य
हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा नियम मिचेर बनाइएका अतिक्रमित संरचनाहरु भत्काउने निर्णय गरेको खबर बाहिरिएको छ । नगर कार्यपालिकाको बुधबार बसेको आठौं बैठकले नक्सा पास नगरी सडकसमेत अतिक्रमण हुने गरी निर्माण गरिएका संरचनाहरु भत्काउने निर्णय गरेसंगै हेटौंडा बजारमा तरंग फैलिएको छ । यो निर्णयको कतिपयले नकारात्मक टिप्पणी गरेका छन् भने कतिपयले स्वागत गरेका छन् । हरेक क्रियाको प्रतिक्रिया आउने वैज्ञानिक तथ्यले पुष्टि गरिसकेको छ । तर, क्रियापछिको प्रतिक्रिया सकारात्मक वा नकारात्मक पक्षबाट विश्लेषण गर्नु कार्यकारी पदमा रहेका पदाधिकारीहरुको दायित्व हो । आफूले गर्न लागेको कामको सकारात्मक वा नकारात्मक कुन पक्षमा बढी जनमत छ, त्यो निर्णयलाई शीरोधार्य गरेर अगाडि बढ्नुपर्छ ।
यो निर्णयको नकारात्मकभन्दा सकारात्मक पाटोमा बढी प्रतिक्रिया बजारमा सुनिएको छ ।हेटौंडा बजार यसै त साँघुरो छ । मुख्य बजार क्षेत्रमा ट्राफिक जामको समस्या बढ्दो छ । फुटपाथमा पैदलयात्री हिँड्न मुस्किल हुनेगरी व्यवसायीहरुले सामान बेच्न राखेका हुन्छन् । पटकपटक फुटपाथ खाली गराउने भनेर अभियान चालिन्छ तर, त्यसै निष्कृय भएर गइरहेको छ । फुटपाथमा सामान राख्दा व्यापार बढ्छ भन्ने गलत बुझाइ व्यापारीको छ । त्यसैको संरक्षणमा मकवानपुर उद्योग वाणिज्य संघ पनि लागिरहेको देखिन्छ । सडक फराकिलो बनाउन स्थानीयबासी र व्यवसायीहरु नै बाधक बन्दै आइरहेका छन् । घरधनीको घर र व्यवसायीको व्यापार जोगाउन बजार फराकिलो हुन सकेको छैन । त्यहिमाथि फुटपाथसमेत ओगटेर राखेको पसलसमेत हटाउन उपमहानगर असफल हुँदै आइरहेको अवस्थामा पछिल्लो समय यो निर्णय आएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडा भइरहँदा यहाँको सबै क्षेत्रको विकास हुने क्रममा छ । राजधानी भएसंगै जनचाप पनि बढ्दो छ । फोहोरमैला बढ्दो छ । सवारीसाधन बढ्दो छ । बाहिरी जिल्लाबाट आउने पर्यटकको संख्या पनि बढ्दो छ । राष्ट्रिय र प्रदेशस्तरका कार्यक्रमहरुको संख्या पनि बढ्दो छ । सबै क्षेत्रमा बढोत्तरी भइरहँदा यहाँको नगरको समग्र सौन्दर्यता खस्किँदो अवस्थामा छ । यसको तत्काल समाधान गर्नु अब स्थानीय सरकारको दायित्व नै हुन जान्छ । त्यसैले सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउने, फुटपाथ खाली गराउने, ट्राफिक व्यवस्थापन गर्ने, फोहोरको व्यवस्थापन गर्ने कायमा अब उपमहानगरपालिका चुक्नु हुन्न । जुन निर्णय भएको छ, त्यो स्वागतयोग्य छ । यो निर्णयलाई तत्काल कार्यान्वयन गरेर जानुको विकल्प छैन ।






