डीनाको निर्वाचन खर्च साढे २८ लाख
हेटौंडा-नेपाली कांग्रेसबाट मकवानपुरको क्षेत्र नम्बर १ मा उम्मेदवार रहेकी महालक्ष्मी उपाध्याय (डीना) र आनन्दराम पराजुलीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।कांग्रेस सहमहामन्त्री डीनाले गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २८ लाख ५७ हजार ४ सय २८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएकी छन् । उनले वडा कार्यालय सञ्चालनमा २० लाख, सचिवालय सञ्चालन खर्च ६ लाख २ हजार ८ सय ७८ रुपैयाँ, कार्यालय घरभाडा खर्च एकलाख ५ हजार, खाजा नास्ता खर्च ६७ हजार ५० रुपैयाँ र इन्धनमा ८२ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख गरेकी छिन् ।
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)का उम्मेदवार आनन्दराम पराजुलीले १२ लाख २७ हजार ६ सय २८ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । निर्वाचनमा डीना र पराजुली दुवै पराजित भएका थिए ।वडा कार्यालय सञ्चालनमा ६ लाख, सचिवालय खर्च ४ लाख ८२ हजार १ सय ५८ रुपैयाँ, कार्यालय घर भाडा ६० हजार रुपैयाँ, चिया नास्ता र खानामा ४२ हजार ९ सय ७० र पेट्रोल डिजलमा ४२ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत् प्रदेशसभा (क)बाट निर्वाचित बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पनि निर्वाचन खर्च विवरण सार्वजनिक गरेकी छन् । प्रदेशसभा निर्वाचनमा उनले ८ लाख ४९ हजार ४ सय ९९ रुपैयाँ खर्च गरेको जनाएकी हुन् । नेकपा माओवादी केन्द्रबाट विजयी मोक्तानले निर्वाचन आयोगमा बुझाएको विवरणमा मुख्य शीर्षकको खर्चमध्ये सबैभन्दा धेरै खर्च चुनाव चिन्ह झण्डा निर्माण र प्रचार प्रसारमा २ लाख ५३ हजार, गाडी भाडामा एक लाख ४३ हजार, कुर्सी टेवुल, साउण्ड सिस्टममा एक लाख २७ हजार, खाजा खानामा ९८ हजार सातसय रुपैयाँ खर्च भएको छ ।
नमुना मतपत्र छपाई पर्चामा एक लाख ८० हजार, उम्मेदवार पर्चामा २० हजार, मतदाता नामावली र स्वस्तिक चिन्हमा १६ हजार, हाते पर्चामा २० हजार रुपैयाँ खर्च भएको आयोगमा बुझाएको खर्च विवरणमा उल्लेख छ । मकवानपुरबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार रहेका प्रमोद गोपालीले पनि खर्च विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा ३६ हजार तीनसय रुपैयाँ खर्च गरेको निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ । अर्का स्वतन्त्र उम्मेदवार पदमबहादुर लामाले भने निर्वाचनमा आफुले
खर्च नगरेको विवरण सार्वजनिक गरेका छन् ।
यसैगरी, बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामीको चुनावी खर्च २१ लाख ११ हजार ६ सय ८ रुपैयाँ रहेको छ । मकवानपुर निर्वाचन क्षेत्र प्रदेश सभा १ को (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पुलामीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उम्मेदवार हुँदा २१ लाख ११ हजार ६ सय ८ रुपैयाँ खर्च गरेको विवरण उनले सार्वजनिक गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुर मार्फत निर्वाचन आयोगमा पुलामीले बुझाएको खर्च विवरणमा सबैभन्दा धेरै निर्वाचन परिचालनको लागि बनाइएको वडा स्तरीय कार्यालयहरु सञ्चालनको लागि १४ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।
सचिवालय सञ्चालन गर्दा चार लाख ५२ हजार एकसय ५८ रुपैयाँ, चुनाव प्रचारप्रसारको क्रममा खाजा खानामा एक लाख २७ हजार एक सय ५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।निर्वाचन प्रचार–प्रसाररको क्रममा प्रयोग भएको सवारी साधनमा पेट्रोल, डिजेल हाल्न ७७ हजार तीनसय रुपैयाँ खर्च भएको र वडा सचिवालयको भाडा तिर्न ५५ हजार रुपैयाँ खर्च भएको आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।
मकवानपुर निर्वाचन क्षेत्र प्रदेशसभा १ को (क) का स्वतन्त्र उम्मेदवार जीवन गोलेले पनि निर्वाचन खर्च विवरण सार्वजनिक गरे । उनले निर्वाचन आयोगमा बुझाएको विवरणमा दुई लाख १६ हजार एकसय रुपैयाँ खर्च भएको उल्लेख छ । गोलेले झण्डामा तीन हजार ६ सय, फ्लेक्स बोर्डमा पाँच हजार, स्वस्तिक छाप स्ट्याम्प र पर्चामा १२ हजार पाँचसय, नमुना मतपत्रमा ५० हजार, यातायातमा एक लाख २० हजार, खाना र खाजामा १५ हजार र सुचना तथा सञ्चारमा ५ हजार खर्च गरेको विवरण आयोगमा बुझाएका छन् ।







