सांसद कंसाकारले अझै पाइनन् क्षतिपूर्ति

साझाकुरा
२०८० भाद्र १२, मंगलवार १०:२६

हेटौंडा-कानुन र नीतिनियम निर्माण गर्ने थलो प्रतिनिधिसभाको सदस्यसमेत रहेकी एसिड पीडित हेटौंडाकी विन्दवासिनी कंसाकारले अझै क्षतिपूर्ति पाएकी छैनन् ।एसिड पीडितहरुको पक्षमा कानुन निर्माण र जीवनरक्षाका लागि सरकारसमक्ष आवाज उठाउने थलोमै पुगेकी सांसद कंसाकारले वर्षौदेखि क्षतिपूर्ति नपाएकी हुन् । ९ वैशाख २०७० मा एसिड आक्रमणमा परी एसिड पीडितहरुको अधिकार प्राप्तिका लागि लड्दै आएकी कंसाकार केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा मनोनित भएकी हुन् । जिल्ला अदालत मकवानपुरले क्षतिपूर्ति रकम तोकेर पीडक वा सरकारको कोषबाट क्षतिपूर्ति दिन आदेश दिएपनि उनले नपाएकी हुन् ।

मुलुकी फौजदारी संहिता २०७४ ले क्षतिपूर्तिसहितको न्याय व्यवस्था गरेपनि उनले न्याय पाएकी छैनन् । एउटै मुद्दाका एउटै पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनु पर्ने जिल्ला अदालतको फैसलाअनुसार कंसाकारले यसअघि नै क्षतिपूर्ति पाउनुपर्ने थियो । कंसाकारको अनुहारमा भारतका अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरीले हेटौंडामा एसिड प्रहार गरेका थिए । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै केसरीले एसिड प्रहार गरेर फरार रहेका थिए । केशरीलाई घटनाको लामो समयपछि प्रहरीले पक्राउ गरेको थियो । केशरी हाल कारागारमा सजाय कटाइरहेका छन्।
अदालतले पीडककेशरीबाट १ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेकोथियो ।

अदालतको फैसलामा प्रतिवादी भारतीय नागरिक भएका कारणले निजको नामको सम्पत्ति नेपालमा नरहेकाले सरकारले नै राहत कोषबाट पीडितलाई उपलब्ध गराउन समेत फैसला गरेको छ । जिल्ला अदालतले क्षतिपूर्ति रकम सके अपराधीबाट भराउनू, उसले तिर्न नसके नेपाल सरकारले उपलब्ध गराउनू भनेर आदेश दिएको थियो । न्यायाधीश कमलराज विष्टको इजलाशबाट आदेश भएको तीन वर्ष बितिसक्दा पनि पीडित कंसाकारले क्षातिपूर्ति नपाएकी हुन् । हालसम्म क्षतिपूर्ति रकम नपाएको कंसाकारले बताएकी छन् ।

मुलुकी फौजदारी संहिता–२०७४ जारी भएपछि मकवानपुर जिल्ला अदालतले आर्थिक वर्ष २०७९÷८० मा १७ जनालाई १२ लाख ५५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ । जिल्ला अदालत मकवानपुरका अनुसार आव ०७८÷७९ मा क्षतिपूर्ति भराइ पाउँ र दाखिला गरीपाउँ भनेर ३० जना पीडितले दरखास्त दिएका थिए । तीमध्ये १३ जना क्षतिपूर्ति बापतको रकम लिन अहिलेसम्म अदालत आएका छैनन् । आव २०७९÷८० मा पीडकबाट १० लाख ५५ हजार रुपैयाँ जरिवाना रकम दाखिला भएको थियो । पीडित राहत कोषवाट २ लाख रुपैयाँ उपलब्ध भएको थियो । १७ जनापीडितहरुलाई १२ लाख ५५ हजार क्षतिपूर्ति रकम उपलब्ध गराएको अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*