मकवानपुरगढीमा निःशुल्क स्वास्थ्य शिविर
हेटौंडा-मकवानपुगढी–५, धादिङमा शनिबार एकदिने निःशुल्क स्वास्थय परीक्षण शिविर भएको छ । नवजनजागृत क्लब मकवानपुरगढी–५ को आयोजना, गढी गाउँपालिकाको समन्वय तथा तमु फार्मेसी तथा निको अस्पताल हेटौंडाको सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा करिब एकहजार ५० जनाको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । न्युरो सर्जन डा. विक्रमादित्य साह, छालारोग विशेषज्ञ डा. प्रमोद चौरासिया, सर्जन डा. अमरदीप मण्डल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अमनकृष्ण रञ्जित तथा फिजिसियन डा. नरेन्द्र केसीले शिविरमा परीक्षण गरेका थिए ।
निको अस्पतालका सञ्चालक सुधिर दाहालका अनुसार शिविरमा करिब एकलाख ५० हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको छ । निको अस्पतालको शुभराम्भको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा इसीजी ल्याब सेवा पनि निःशुल्क व्यवस्था गरिएको थियो । निको अस्पताल हेटौंडा–२ मउवासंघ चोकमा रहेको छ ।







