मनहरीस्थित स्वास्थ्य इकाइमै छैन बिरामी जाँच्ने बेड

साझाकुरा
२०८० भाद्र २६, मंगलवार ०९:५२

हेटौंडा-मनहरी गाउँपालिका–४ नयाँबस्तीस्थित स्वास्थ्य ईकाईमा बिरामी जाँचका लागि व्यवस्थित बेड समेत नभएको बताइएको छ ।स्वास्थ्य ईकाईमा बिरामी जाँच्न बेडसमेत नभएपछि स्थनीयहरुले स्थानीय सरकारको आलोचना गरेका छन् । सार्बजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार महिलाहरुबीच आयोजना भएको अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरुले बेड नै नभएको अवस्थामा उपचारसेवा कसरी प्रभावकारी हुन्छ ? भन्दै वडाध्यक्षलगायतका जनप्रतिनिधिलाई प्रश्न गरेका छन् ।

पशुपतिनाथ मावि परिसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा पातली चेपाङले ४ नम्बर वडाका वडाध्यक्ष प्रकाश थापालाई गुनासो गरिन्, ‘बिरामी गएर बस्ने बेड पनि छैन, गर्भजाँच पनि सबैको अगाडि भुँडी देखाएर गर्नुपर्ने अबस्था छ ।’,

जबाफमा वडाध्यक्ष थापाले तत्कालै व्यवस्थित बेडको व्यवस्थापन हुने बताए । ‘मैले पालिका र स्वास्थ्य शाखालाई यो समस्याबारे ध्यानाकर्षण गराउनेछु र तत्कालै यसको व्यवस्थापन गर्नेछु’, वडाध्यक्ष थापाले भने । कार्यक्रममा १५ जनाभन्दा बढीले ४ नं वडाको स्वास्थ्य क्षेत्र, विकास निर्माण, पशुपतिनाथ मावि र चेपाङ प्राथमिक विद्यालयको शैक्षिक समस्याका बारेमा कुरा उठाएका थिए । स्थानीय भगतवती चेपाङले विद्यालयका हेडसर के कति कारणले सरुवा गरिएको हो ? भन्ने प्रश्न गर्दै उनले गरिव, बिपन्न समुदायका बालबालिकाका लागि पोशाक, कापीकलम, चप्पलको व्यवस्था गरी दिएर सहयोग गरिरहेकामा अकस्मात सरुवा हुँदा अनौठो लागेको बताइन् ।

कार्यक्रममा पशुपतिनाथ माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा, पुस्तकालय संचालन नभएको, १७ घर क्षेत्रका खाली घरहरुमा लागूऔषध गाँजासेवनको अखडा बनेको, बाटाहरु हिलाम्य भएर हिँड्नै नसक्ने अबस्था आएको, बाघले खोरबाटै खसी तानेर खाएको, वडा कार्यालयमा फोटोकपी सेवाका लागि सोर्सफोर्स लगाउनुपरेको, पाडी
बितरणबारे जनप्रतिनिधिलाई नै सोध्दा पनि जानकारी नदिइएको, सिनक्योकुसिन कराँतेका लागि बजेट नभएकोलगायतका बिषय उठान भएको थियो ।

कार्यक्रममा पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतम, वडाध्यक्ष थापालगायतले उठेका बिषयमा जबाफ दिएका थिए । डब्लुपीडीकी फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यहरु, महिला समूहका सदस्यहरु सहभागी भएका थिए । इन्सेक नेपालका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले स्वागतसहित कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*