जिल्लाका स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
हेटौंडा- हेटांडाका दुई डाक्टर कुटपिट घटना उत्कर्षमा पुगेसँगै मकवानपुरका स्वास्थ्य संस्था ठप्प भएका छन् । हेटौंडा–१, स्थित सञ्चो हस्पिटल प्रालिमा दुई डाक्टर कुटपिट प्रकरणमा आन्दोलित बनेका स्वास्थ्यकर्मीले शुक्रबार आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।जिल्लाकै एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा शुक्रबार बिहानदेखि गेटमा ताला लागेको छ । दैनिक १ हजारको हाराहारीमा उपचार गराउने आउने बिरामी अस्पताल आएर फर्किनु परेको छ । अस्पतालको आकस्मिक उपचार कक्ष भने सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । स्वास्थ्यकर्मीले दोषिलाई कारबाही गर्नुपर्ने, राज्यले स्वास्थ्यकर्मीको सुरक्षा दिनुपर्ने लगायतका माग राखेर अनिश्चित कालीन आन्दोलन थालेका हुन् ।
हेटौंडाका निजी अस्पताल, मेडिकलहरु पनि बन्द छन् । निजी अस्पताल र मेडिकलहरु बन्द रहेको नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरका उपाध्यक्ष सुधीर दाहालले जानकारी दिए । जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी अस्पतालका स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका छन् । मनहरी अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प छ । हेटौंडा–१२ का डेंगूबाट मृत्यु भएका राजेश प्रधानका आफन्तले सञ्चो हस्पिटलभित्र प्रवेश गरी डाक्टर विकास थापा र अर्का डाक्टर प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए । मकवानपुर प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरी सकेको छ ।
पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाल चिकित्सक संघले बिहीवार प्रहरीमा उजुरी दिएको छ । उजुरीमा दुई जनाको नाममा किटानी जाहेरी परेको जनाइएको छ । उपचारसेवाप्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौंडाका चिकित्सकहरुले अस्पताल तथा निजी क्लिनिकहरुको आकस्मिक बाहेक सबै सेवा बन्द गराएको हेटौंडा अस्पतालका मेसु सापकोटाले बताए ।
डा. सापकोटाकाअनुसार मकवानपुरमा कार्यरत् ७८ जना चिकित्सकले बिहीवार नै सामूहिक राजीनामा दिने तयारी गरेका थिए । कतिपय चिकित्सकले राजीनामापत्र तयार पारेर राखेको र कतिपयले आफूलाई बुझाएको भन्दै राजीनामा भने स्वीकृत नगरिएको उनको भनाई छ । यो घटनामा संलग्न दोषिउपर कडा कारबारही गर्ने प्रधानमन्त्री प्रचण्डले पनि आश्वासन दिएका छन् । प्रम प्रचण्डलाई भेट्न पुगेका चिकित्सकहरुलाई दोषिउपर कानूनी कारबाही गरिने आश्वासन दिइएको हो ।







