चिकित्सक कुटपिटमा संलग्नलाई कारबाही गर्न नेकपा एसको माग

हेटौंडा-मकवानपुरको हेटौंडामा ड्युटीमा खटिएका चिकित्सक कुटपिट गर्नेलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरले माग गरेको छ ।पार्टी मकवानपुरका अध्यक्ष विष्णु दहालले शनिबार एक विज्ञप्ती जारी गर्दै चिकित्सक कुट्ने घटनामा संलग्नहरुलाई कानून अनुसार कारवाही गर्न माग गरेका छन् ।
समाजवादीले अस्पतालका चिकित्सकमाथि उच्छृंखल तत्वबाट सांघातिक आक्रमण भएको भन्दै घटनाप्रति खेद व्यक्त गरेको छ । ‘हेटौंडा–१ स्थित सञ्चो अस्पतालका चिकित्सकहरुमाथि केही उत्छृंखल तत्वबाट भएको सांघातिक आक्रमणप्रति हाम्रो पार्टी नेकपा ‘एकीकृत समाजवादी’ खेद व्यक्त गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
विगतमा पनि विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा कर्मचारी माथि हेटौंडामा यस्ता घंटना हुँदै आएको बताउँदै एकीकृत समाजवादीले यसले हेटौंडाको सि·ो स्वास्थ्य क्षेत्रमाथि नकारात्मक प्रभाव पार्नसक्नेप्रति चिन्ता व्यक्त गरेको छ । पार्टीले पटक–पटक हुने यस्ता घटनाले चिकित्सक तथा कर्मचारीमाथि सुरक्षाको गम्भीर प्रश्न उठ्न गई हेटौंडाको सि·ो स्वास्थ्यक्षेत्र माथि नकारात्मक प्रभाव पर्नसक्ने विज्ञप्तिमा उल्लेख गरेको हो ।
समाजवादीको विज्ञप्तिमा चिकित्सक कुट्नेलाई कारवाही माग गर्दै भनिएको छ, ‘स्वास्थ्य संस्था एवम् स्वास्थ्यकर्र्मीको सुरक्षाको प्रत्याभूतिका लागि यस्ता उच्छृंखल क्रियाकलापमा संलग्नहरुलाई कानून अनुसार हदैसम्मको कारवाहीको लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछ ।’एक महिना अघि मृत्यु भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही भएको भन्दै बुधबार हेटौंडा–१ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।
कुटपिटमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले मृतक राजेशका श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अमित प्रधानलाई बिहीबार पक्राउ गरेको छ । पक्राउ परेका तथा घटनामा संलग्न अन्य व्यक्तिलाई खोजी गरी आवश्यक कारवाही गर्न प्रहरीलाई चौतर्फी दबाब छ ।