हेटौंडा आएर गृहमन्त्री श्रेष्ठले भने, ‘सुशासनको अभियान रोकिँदैन’
हेटौंडा- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियान नरोकिने दावी गरेका छन् । सोमबार निकास साप्ताहिकको २० औं वार्षिकोत्सवको उद्घाटन गर्दै हेटौंडामा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, कुशासन र जाली फटडाहविरुद्ध काम गरिहदा त्यसको संरक्षकहरु आत्तिएको भन्दै सरकार सुशासनको अभियानमा लागिरहने बताएका हुन् ।‘हामीले भ्रष्टाचार, कुशासन, जाली फटाहाविरुद्ध काम गरिरहदा त्यसको संरक्षकहरु आत्तिएका छन् र सरकार बिरुद्ध बोलिरहेका छन् । तर, हामी भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको अभियान, समृद्धिको अभियानमा लागीनै रहने छौ,’ उनले भने ।
उनले वर्तमान सरकारको सुशासनको अभियननबाट जनतामा आशा र विश्वास बढिरहेको दाबी गरे । ‘अब हामीले विशेषत यी चार विषयमा जोड रहने छ । जसअन्तर्गत पहिलोमा हामीले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कायम राख्नु छ,’ उनले भने, ‘दोस्रोमा हामीले परिवर्तन गरी ल्याएको राजनीतिक परिवर्तनलाई कायम राख्नु छ ।तेस्रोमा मुलुकमा सुशासनको अभियानलाई जारी राख्नु छ र चौथोमा हाम्रो देशमा भएको बिबिधताबीचको एकता, सद्भावलाई कायम राखी कुनैपनि हालतमा सामाजिक एकता र सद्भाव माथी खलल पार्न नदिन लागिपर्नु पर्ने छ ।’
गृहमन्त्री श्रेष्ठले सुशासनकै प्रत्याभूति गराउन सरकारले मन्त्रीहरुको अनावश्यक खर्चको कटौती, अनावश्यक पदक वितरलाई खारेजी, मिटरब्याजी समस्यालाई समाधान गर्न समिति बनाइ पीडितलाई न्याय दिने, प्रहरी प्रशासनभित्र हुने सरुवा बढुवा आदिमा हुने पैसा र पावरको चलखेललाई शुन्यमा झारेको दाबी गरे । उनले सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, भ्रष्टाचारका विभिन्न घटनाको छानबीन भइरहेको बताए ।
कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेशले अधिकार नपाउँदा नाममात्रैको सरकार बन्नुपरेको बताए । श्रेष्ठले प्रदेश सरकारलाई अधिकार र श्रोतसाधनबिहीन बनाइँदा चरा लखेट्न राखेको बुख्याँचा जस्तो बन्दै गइरहेको बताएका छन् । उनले प्रहरी र कर्मचारी नहुँदा प्रदेश सरकार नाम मात्रको बनेको बताए । मन्त्री श्रेष्ठले गठबन्धन सरकारको न्यूनतम साझा नीति, कार्यक्रममा बढीमा ६ महिनाभित्र प्रहरी समायोजन गरिसक्ने प्रतिबद्धता भएको उल्लेख गर्दै ६ महिना बितिसक्दा पनि प्रहरी समायोजन हुन नसकेको बताए ।
मन्त्री श्रेष्ठले संघीयता अनुरुपको ऐन, कानूनहरु निर्माण हुन नसक्दा गणतन्त्र मासेर राजतन्त्र पुनस्र्थापना गर्ने र संघीयता मासेर एकात्मक केन्द्रीकृत राज्य व्यवस्था फर्काउने अभिव्यक्तिहरु आउन थालेका बताए । उनले धर्मनिरपेक्षताको ठाउँमा पुनः हिन्दुराज्य बनाउने हुंकार पनि आउन थालेको बताए । उनले सरकारको कामकारबाहीले प्रतिगामीलाई मलजल पुगिरहेको हुनसक्ने भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ भएको बेलामा पनि प्रहरी समायोजन र निजामती ऐन बनेन भने संघीयताको भविष्यमाथि नै प्रश्नचिन्ह खडा हुने बताए । उनले गृहमन्त्री श्रेष्ठलाई संविधानको मर्म अनुसारका आवश्यक ऐन, कानुनहरु फटाफट निर्माण गर्न आग्रह पनि गरे । यसैगरी, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले वर्तमान सरकारबाट जनताले ठुलो आश गरेको बताइन् । उनले सुधार गर्नुपर्ने केही पाटोहरु रहेपनि सरकार सुशासनको पक्षमा देखेको बताइन् । उनले सबैलाई आआफ्नो ढंगबाट दायित्व पूरा गर्न आग्रह गरिन् ।
निकास साप्ताहिक, सामुदायिक रेडियो, रेडियो सन्देश तथा थाहा नेपाल डटकमको संचालक सुनिल खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक सर्केश घलान, नेपाली कांग्र्रेस मकवानपुर सचिव भीमसेन महत, नेकपा एकीकृत समाजवादी मकवानपुर अध्यक्ष बिष्णु दाहाल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, अन्य नेताकार्यकर्ताको उपस्थिति रहेको ।







