मकवानपुरमा सबैभन्दा बढी कर तिर्ने ५ करदाता सम्मानीत
हेटौंडा- आन्तरिक राजस्व कार्यालय हेटौंडाले राष्ट्रिय कर सप्ताहको अवसरमा मकवानपुरका पाँच जना करदातालाई सम्मान गरेको छ ।सबैभन्दा बढी कर तिर्नेमा शैक्षिक संस्थातर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेन्स प्रालि, उद्योगतर्फ प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रा.लि, सेवा निर्माण तर्फ विपिआर कन्स्ट्रक्सन प्रालि, व्यापारतर्फ सिंह एण्ड ब्रदर्शर वित्तीय संस्थामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको हो ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टले ४३ लाख ७७ हजार ९२५ रुपैयाँ, प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालिले एक करोड ९ लाख ८० हजार ६४८ रुपैयाँ, विपिआर कन्स्ट्रक्सन प्रालिले ५४ लाख ७२ हजार ६३९ रुपैयाँ, सिंह एण्ड ब्रदर्शले २९ लाख ९० हजार ५९३ रुपैयाँ र पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले २५ लाख १ हजार ९५९ रुपैयाँ राजस्व दाखिला गरेको कार्यालयले जनाएको छ । हरेक वर्ष कर दिवसको अवसरमा कर कार्यालयले सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गर्दै आएको छ ।
दिवसका अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नायवसुव्वा जनक ढकाललाई सम्मान र शुभलक्ष्मी लामालाई कार्यालयले प्रशंसापत्र प्रदान गरेको छ । आन्तरिक राजस्व कार्यालयका करअधिकृत तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रमुखसचिव घनश्याम उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मकवापुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल लगायतको आतिथ्यता रहेको थियो ।







