मकवानपुरगढीको रानीसेरामा खाद्यबाली जुनेलो संकलन

साझाकुरा
२०८० पुष १०, मंगलवार १२:३१

हेटौंडा-खाद्यसुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएको खाद्यान्न बाली जुनेलो ‘कोङग्रे’को खरिद तथा संकलनको कार्य सुरुवात भएको छ ।जुनेलोको क्षेत्रफल दिनानुदिन घट्दै गइरहेको अवस्थामा यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि मकवानपुरगढी गाउँपालिकाले खरिद तथा संकलन कार्यको सुरुवात गरेको हो । विश्वमा मुख्य खाद्यान्न बालीको रुपमा रहेको गहुँ, धान, मकै र जौ पछिको महत्वपूर्ण बालीको रुपमा जुनेलो रहेको छ । जुनेलोलाई स्थानीय तामाङ भाषामा कोङग्रे भनिन्छ । जुनेलोको रोटी, ढिँडो, जुनेलोको लड्डु, जुनेलो भुटेर र जाँडलगायतका परिकार बनाएर यसको उपभोग गर्न सकिने गाउँपालिकाको कृषि शाखाप्रमुख चन्द्रकान्त चौधरीले बताए ।

यसअघि ४ नम्बर वडामा कोदो र ८ नम्बर वडाको बुढीचौरमा फापर खरिद तथा संकलन सुरु गरेको मकवानपुरगढी गाउँपालिकाले सोमबारबाटरैथानेबालीको प्रवद्र्धन गर्ने सिलसिलामा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नम्बर १ का वडाअध्यक्ष आईतसिं लोको उपस्थितिमा १ नम्बर वडास्थित रानीसेरामा जुनेलो खरिद तथा संकलनको कार्य सुरु गरिएको हो । अध्यक्ष स्याङ्तानले रानीसेराका कृषक लालबहादुर भोम्जनलाई चेक हस्तान्तरण गरी जुनेलो खरिदको कार्य सुरुवात गरेका हुन् मकवानपुरगढी गाउँपालिका–१ को रानीसेरा,रानीडाँडा, आँपटार, ढापलगायतका क्षेत्रमा कृषकले जुनेलो लगाउँदै आइरहेका छन् ।

मकवानपुरगढी–४, स्थित अपा· तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्य ८४ रुपैयाँमा अनुदान रकम समेत थप गरी प्रतिकेजी ९० रुपैयाँको दरले जुनेलो खरिद गरिएको सहकारीका सचिव कृष्णबहादुर घलान (मुस्कान) ले जानकारी दिए । रानीसेरामा सोमबार पहिलो दिन ८ जना कृषकबाट ६ सय ५३ केजी जुनेलो खरिद भएको छ ।जुनेलो बिक्री गर्ने कृषकमध्ये मकवानपुरगढी–१ रानीसेराका कृषक लालबहादुर भोम्जनले सबैभन्दा बढी १ सय ८१ केजी जुनेलो बिक्री गरेका छन् ।

गतवर्ष कृषकले जुनेलो प्रतिकेजी ६५ देखि ७० रुपैयाँमा बिक्री गरेकोमा यसवर्ष गाँउपालिकाले मूल्य तोकिदिएर अनुदान समेत व्यवस्था गरी प्रतिकेजी ९० रुपैयाँका दरले पाएकोमा कृषक खुशी र उत्साहित भएको वडाअध्यक्ष लोले जानकारी दिए । उनले अगामी वर्ष वडा नम्बर–१ मा जुनेलो लगाउने कृषकको संख्यामा वृद्वि हुनुको साथै क्षेत्र विस्तार र बाँझो जमिन समेत उपयोगमा आउने विश्वास व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*