मकवानपुरगढीले ल्यायो ५७ करोड ९५ लाख बजेट

हेटौंडा- मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ५७ करोड ९५ लाख ८० हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न ११ औँ अधिवेसनले बजेट ल्याएको हो ।गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिनले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । उनले ५७ करोड ९५ लाख ८० हजार अनुमानित आयब्यय प्रस्तुत गरेकी हुन् । उनले सभामा संघीय सरकार वित्तियसमानिकरण अनुदान ९ करोड ८२ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ९६ लाख गरी जम्मा वित्तीय समानिकरण अनुदान १० करोड ७८ लाख प्राप्त भएको बताइन् ।
संघीय सरकार राजस्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड ५५ लाख बाँडफाँड भई प्राप्त हुने अन्तशुल्क राजश्व २ करोड ३८ लाख, खानी तथा खनिजसम्बन्धी रोयल्टी बाँडफाँडबाट ७५ लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत १ करोड, बाँडफाँडबाट प्राप्त हुने सवारीसाधन कर १ करोड ८५ लाख, बाँडफाँड भई प्राप्त हुने बन रोयल्टी ११ लाख बाँडफाँड भई प्राप्त हुने, ढुंगा, गिट्टी, बालुवा, नदीजन्यपदार्थ (दहत्तर बहत्तर) राजस्व बाँडफाँडबाट प्राप्त हुने आय ३ करोड सहित जम्मा राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम १५ करोड ६४ लाख अनुमान गरिएको उपाध्यक्ष पाख्रिनले बताइन् ।
त्यसैगरी आन्तरिक आयअन्तर्गत भूमिकर÷मालपोत, सम्पत्ती कर, घरबहाल कर, मनोरञ्जन कर, अन्य विक्रीबाट प्राप्त रकम, अन्य श्रोतबाट प्राप्तरोयल्टी, परीक्षाशुल्क, नक्सा पास दस्तुर, सिफारिस दस्तुर, नाता प्रमाणित दस्तुर, प्रशासनीक दण्ड जरिवाना, प्रदूषण शुल्क लगायतका शीर्षकबाट एक करोड ३४ लाख संकलन हुने अनुमान पालिकाको रहेको उपाध्यक्षले जानकारी दिइन् ।संघीय सरकार सशर्त अनुदान (शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघुउद्यम कार्यक्रम, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण कार्यक्रम सहित) २३ करोड ३४ लाख ७५ हजार, प्रदेश सरकार सशर्त चालु अनुदान २ करोड ३५ लाख अनुमान गरिएको छ । जस अन्तर्गत कुल सशर्त अनुदान २५ करोड ६९ लाख ७५ हजार अनुमान गरिएको छ ।
गाउँपालिकाले प्रदेश सरकार समपुरक अनुदानमा ३ करोड हुने अनुमान गरेको छ भने संघीय विशेष अनुदान ५० लाख र प्रदेश विशेष अनुदान रकम १ करोडगरी विशेष अनुदान रकम १ करोड ५० लाख रकम प्राप्त हुने अनुमान छ । गाउँपालिकाको व्ययतर्फ कुल बजेटको पुँजीगततर्फ ३० करोड ८ लाख २ हजार १९ रुपैयाँ, अर्थात (५१.९ प्रतिशत) र चालुतर्फ २७ करोड ८७ लाख ७७ हजार ९ सय ८० अर्थात (४८.१ प्रतिशत) गरी कुल व्यय ५७ करोड ९५ लाख ८० हजार १ रुपैयाँ अनुमान छ ।गाउँपालिकाले आगामी वर्षका लागि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चअन्तरगत ८ करोड ६५ लाख रकम विनियोजन गरेको छ । आर्थिक विकास क्षेत्रअन्तरगत कूल व्यय अनुमानको ३ करोड ८ लाख विनियोजनगरिएको छ भने पूर्वाधार विकास क्षेत्रमा १९ करोड २४ लाख ३८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रमा ५५ लाख ९४ हजार, विषय क्षेत्रगत व्यय अन्तरगत सामाजिक विकास क्षेत्रमा २५
करोड ५५ लाख ५३ हजार १ रुपैयाँ रकम विनियोजन गरेको उपाध्यक्ष पाख्रिनले बताइन् ।
वन, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ८७ लाख १८ हजार रकम विनियोजन गरिएको छ । गाउँपालिकाले चालु आवमा ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट ल्याइएको थियो । आगामी वर्षका लागि भने बजेट रकम घटेर ल्याएको उपाध्यक्ष पाख्रिनले बताइन् । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको गाउँसभामा पूर्वाधार विकास समितिका संयोजक एवम् वडा २ का वडाअध्यक्ष बखानसिं पाख्रिनले विनियोजन विधेयक २०८१ प्रस्तुत गरेका थिए ।आर्थिक विकास समितिका संयोजक एवम् वडा ६ का अध्यक्ष कृष्णप्रसाद बजगाईले आर्थिक विधेयक २०८१ प्रस्तुत गरेका थिए । सोही सभामा न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष पाख्रिनले न्यायिक समितिको प्रतिवेदन २०८० प्रस्तुत गरेकी थिइन् । सभामा प्रस्तुत भएका प्रतिवेदन पास गरिएको छ ।