कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा. शर्माबीच भेटवार्ता

साझाकुरा
२०८१ माघ १०, बिहीबार ११:३९

हेटौंडा-नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति तथा पूर्वगृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासँग भेट गरेका छन् ।भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा बुधबार बिहान भएको भेटमा भारतमा रहेका नेपालीका समस्या र समाधानका विषयमा छलफल भएको बानियाँको सचिवालयले जनाएको छ । भेटवार्तामा भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीको समस्या र नेपालबाट स्वास्थ्यउपचारका लागि आउँदा ब्योहोर्नुपरेका समस्या बारेमा नेता बानियाँले चर्चा गर्दै समस्या समाधान लागि पहल गर्न राजदूत डा. शर्मालाई आग्रह गरेका थिए ।

प्रदेश सभापति बानियाँले भारतमा कार्यरत नेपाली मजदुर तथा विभिन्न व्यवसाय गरी बसेका नेपालीलाई स्वास्थ्यबीमाको प्रक्रियामा सामेल गराउने सम्बन्धमा पनि पहल गर्न आग्रह गरेका थिए । भेटवार्तामा राजदूत डा. शर्माले नेपाल र भारतबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीको स्वास्थ्यउपचारमा आवश्यक सहयोग पाइरहेको बताएका थिए । उनले समस्यामा परेका नेपालीलाई राजदूतावासले भारत सरकारसँग आवश्यक समन्वय गरेर सहजिकरण गरिरहेको जानकारी गराएका थिए ।

छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानुन तथा संसदीय मामिला विभागप्रमुख सानुकान्छा श्रेष्ठ, राजदुतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत विभिन्न अस्पतालमा उपचाररत विरामीका आफन्त तथा व्यवसायीको सहभागिता थियो । नेता बानियाँले मंगलबार नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचाररत नेपाली विरामी तथा आफन्तलाई भेटेर उपचारमा परेका कठिनाइबारे जानकारी लिएका थिए । सोही क्रममा उनले राजदूतसँग छलफल गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*