स्वास्थ्यबीमा अभियानमा अनिबार्य जोडिनुपर्छ–स्वास्थ्यमन्त्री थापा
हेटौंडा- बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सबै नागरिकलाई अनिवार्य स्वास्थ्यबीमा अभियानमा सहभागी हुन आग्रह गरेका छन् । उनले स्वास्थ्यबीमाको धेरै फाइदा रहेको र यसले नागरिकलाई आर्थिक तथा स्वास्थ्यसुरक्षामा सहयोग पुग्ने बताए ।स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा शुक्रबारदेखि प्युटारमा सुरु भएको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्य प्रवद्र्धन अभियानको उद्घाटन गर्दै मन्त्री थापाले स्वास्थ्यबीमाको महत्वमाथि प्रकाश पारे । मन्त्री थापाले दुर्गमक्षेत्रमा स्वास्थ्यसेवा पु¥याउन मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिए ।
मन्त्री थापाका अनुसार, दुर्गमक्षेत्रमा स्वास्थ्यसेवाको अभावमा बसाइँसराइ भइरहेकाले यो समस्यालाई समाधान गर्न सरकारले योजनाबद्धरुपमा काम गरिरहेको छ । ‘रोगका कारण हिजो देखेको मान्छे आज नहुने परिस्थिति हटाउन सरकार लागिपरेको छ,’ उनले भने । शिविरमा गरिएको आँखाजाँचमा मोतियाबिन्दु देखिएका बिरामीलाई निःशुल्क अपरेशनलगायत अन्य उपचार प्रदान गरिने मन्त्री थापाले बताए । ग्रामीण स्वास्थ्य संस्थामा टेलिमेडिसिनमार्फत् सेवा विस्तार गर्ने योजना उनले प्रस्तुत गरे ।
विद्यालयमा स्वास्थ्य समस्याको सहज व्यवस्थापनका लागि माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । उनले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मनोचिकित्सा सेवा विस्तार गरिरहेको बताए । मन्त्री थापाले नसर्ने रोगको रोकथामका लागि योग र ध्यानको अभ्यास गर्नुपर्नेमा जोडदिए । आफ्नो स्वास्थ्य नियमितरुपमा जाँच गर्न नागरिकलाई आग्रह गर्दै उनले रोग लाग्नुअघि नै सचेत हुनुको महत्व प्रस्ट पारे ।
बागमती गाउँपालिका अध्यक्ष बीरबहादुर लोप्चनको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा पूर्वसदस्य चेतनाथ सञ्जेल, बज्रबाराही अस्पतालका अध्यक्ष रामहरि घिमिरे, स्वास्थ्य मन्त्रालयका महाशाखाप्रमुख सागरप्रसाद घिमिरे, जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेल र सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईलगायतको उपस्थिति थियो । कार्यक्रममा मन्त्री थापाले ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरेका थिए । स्वास्थ्यसेवामा पहुँच सुधार्न सरकारको प्रयास जारी
रहेको सन्देश कार्यक्रममा उपस्थित सरोकारवालाले समेत व्यक्त गरे ।







