पूर्वीमकवानपुरमा मिनि रंगशाला तयार
हेटौंडा- पूर्वीमकवानपुरको बागमती गाउँपालिकामा मिनि रंगशाला तयार भएको छ । बागमती गाउँपालिकाले आफ्नै लगानीमा गाउँपालिका कार्यालय नजिकै फुटबल रंगशाला निर्माण गरेको हो ।गाउँपालिकाले गत आर्थिक वर्ष असोज १७ गते ठेक्का आह्वान गरी रंगशाला निर्माणकार्य अघि बढाएको थियो । माघ पहिलो साता नै रंगशालाको काम सकेर निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरिसकेको छ । २२ हजार ९ सय २५ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन रंगशालाको उत्तर–पश्चिम दिशामा ६२ मिटर लम्बाइ र १२.५ मिटर चौडाइको प्यारापिट निर्माण गरिएको छ ।
प्यारापिट करिब २ हजार ५ सय दर्शक अटाउने क्षमताको छ । रंगशालामा फेन्सिङ वायरसहित घेराबार, चेन्जिङ रुम, शौचालयको निर्माण पनि गरिएको छ । नवनिर्मित रंगशालामा फागुन ३ देखि १० लाख पुरस्कार राशीको सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुँदैछ । यसअघि प्यारापिट सहित मैदान अभावमा पहिलोदेखि छैटौं संस्करणसम्म बागमती गाउँपालिकाको–८ स्थित जनता माविको मैदानमा प्रतियोगिता गरिरहेको थियो ।
हेटौंडा उपमहानगरपालिका–५ को सञ्जय निर्माण सेवाले रंगशाला निर्माण गरेको थियो । निर्माण कम्पनीले भेरियसन सहित ३ करोड ६० लाख ८८ हजार रुपैयाँमा काम सम्पन्न गरेको पालिका सव–इन्जिनियर गौरीशंकर ठाकुरले बताए । गाउँपालिका र निर्माण व्यवसायीबीच २०८० माघ ४ गते सम्झौता भएको थियो ।







