महापुराणमा ५६ लाख ८९ हजार संकलन
हेटौंडा-राधा फाउन्डेसनले वैशाख २ गतेदेखि १३ गतेसम्म हेटौंडा–५, पिप्लेक्याम्पा रंगशालामा गरेको शिव महापुराणमा ५६ लाख ८९ हजार ८ सय २२ रुपैयाँ संकलन भएको छ । झापाको कन्काइ–६, मनसापुरस्थित आश्रममा आश्रय लिइरहेका बालबालिकाका लागि सञ्चालक राधा फाउन्डेसन तथा पुराण आयोजक समितिको आयोजनामा भएको महापुराणमा यो रकम संकलन भएको हो । यो रकमबाट ३४ लाख २७ हजार १ सय ७१ नगद संकलन भएको र २२ लाख ६२ हजार ७ सय २२ रुपैयाँ उठ्न बाँकी रहेको भागवत् कथावाचिका राधिका दासीले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।
कार्यक्रम सम्पन्न गर्न ४० लाख ८२ हजार खर्च भएको जानकारी दिइएको छ । कार्यक्रममा मातातीर्थ औंशिको अवसरमा हेटौंडाका एक सय आमाहरुलाई नगदसहित सम्मान गरिएको उनले जानकारी दिइन् । संकलन रकमबाट रंगशालालाई २ लाख ५१ हजार सहयोग आएको वडाध्यक्ष तथा कार्यक्रम संयोजक सुशील घिमिरेले जानकारी दिए । राधिका फाउन्डेसनको आफ्नै भवन नभएको अवस्थामा झापाको कन्काइमा घर भाडामा लिइ १५ बालबालिका अंग्रेजी माध्यममा अध्यापन गराइरहेको छ भने ३५ बालबालिका काठमाडौंका विभिन्न विद्यालयमा आवासीयरुपमा रहेको जानकारी दिइएको छ ।







