बागमती प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन २२ खर्ब ३० अर्बमा पुग्ने अनुमान

थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान
साझाकुरा
२०८२ जेष्ठ १४, मंगलवार १२:२१

हेटौँडा-चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन २२ खर्ब ३० अर्ब हाराहारी रहने प्रारम्भिक अनुमान गरिएको छ ।केन्द्रिय तथ्यांक विभागले सोमबार प्रदेश राजधानी हेटौंडामा सार्वजनिक गरेको लेखा तथ्यांक अनुसार बागमती प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा २२ खर्ब ३० अर्ब रहने अनुमान गरेको हो । देशकै अर्थतन्त्रको एक तिहाई हिस्सा बागमती प्रदेशको रहेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षमा यस प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादनमा ३६ दशमलव ५२ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको राष्ट्रिय तथ्यांक कार्यालय हेटौंडाका निर्देशक गंगाराम भट्टराईले जानकारी दिएका छन् ।

गत आर्थिक वर्ष बागमतीको योगदान ३६ दशमलब २० प्रतिशत थियो । कुल ग्राहस्थ उत्पादनमा गत आर्थिक वर्ष अग्रस्थानमा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रको यस आर्थिक वर्षमा पनि सबैभन्दा बढी योगदान रहने अनुमान छ । यस क्षेत्रबाट २२ दशमलव ५५ प्रतिशत रहने छ । सबैभन्द न्यून योगदान आप्रर्ती, ढल फोहोर व्यवस्थापन क्षेत्रबाट शून्य दशकलव २७ प्रतिशत रहने अनुमान छ । क्षेत्रगत रुपमा मूल्य अभिवृद्धि वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रबाट १९ दशमलव ९५ प्रतिशत रहने र सबैभन्दा कम खानी तथा उत्खनन क्षेत्रको हुने अनुमान छ ।

चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल ग्राहस्थ उत्पादन ६१ खर्ब ७ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । कोशी प्रदेशले राष्ट्रिय अर्थतन्त्रमा १५ दशमलव ९० प्रतिशतले योगदान दिने अनुमान छ । लुम्बिनीले १४ दशमलब २३ प्रतिशत, मधेश प्रदेशले १३ दशमलब १६ प्रतिशत, गण्डकी प्रदेश ८ दशमलब ९८ प्रतिशत, सुदुर पश्चिमले ७ दशमलब ०३ प्रतिशत हिस्सा योगदान दिने अनुमान छ । राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा कम कर्णाली प्रदेशको ४ दशमलब १९ प्रतिशत योगदान रहने तथ्यांकले देखाएको छ ।

प्रादेशिक आर्थिक वृद्धिदरमा सबैभन्दा बढी गण्डकी र दोस्रोमा बागमती देखिएको छ । प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा बागमती प्रदेश अगाडी रहने प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशबासीको प्रतिव्यक्ति आय २ हजार ६ सय २ अमेरिकी डलर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*