माओवादी केन्द्र मकवानपुरको प्रथम विस्तारित जिल्ला भेला

हेटौंडा-नेकपा माओवादी केन्द्र मकवानपुरको प्रथम विस्तारित जिल्ला भेला हेटौंडामा सम्पन्न भएको छ ।पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता एवम् मकवानपुरका संयोजक भीम पाख्रिनको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिले सदनलाई मुख्य संघर्षको मोर्चा बनाएर सडकसँग जोडेर जनसम्पर्क अभियान अघि बढाउने बताएका छन् । उनले सडक, सदन र सरकार तीनवटै मोर्चालाई सँगसँगै अघि बढाउने योजना रहेको बताए ।
पार्टीले २०८४ सालको निर्वाचनलाई लक्षित गरी सरकारको नेतृत्वमा पुगेर सामाजिक आर्थिक रुपान्तरण गर्ने योजना बनाएको उनले उल्लेख गरे । सरकार आफैँ संघर्षको मुख्य मोर्चा बन्नुपर्ने र त्यसका लागि स्पष्ट योजना र नीति आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाई छ । रणनीति र कार्यनीतिमा स्पष्टता र कार्यकर्ताबीच एकमत हुनु जरुरी रहेको उनले बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राजनीतिक परिवर्तनलाई जनताको जीवनस्तर सुधार्ने माध्यम बनाउनु पर्ने बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शालिकराम जम्मकट्टेल, कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य तथा पार्टी प्रदेश सचिवालय सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, जिल्ला इन्चार्ज विजय गौतमलगायत नेताको उपस्थिति थियो । करिब ३५० जना नेताकार्यकर्ताको सहभागिता रहेको भेलामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार, भावी रणनीति र पार्टीको मार्गदर्शनबारे गम्भीर छलफल गरिएको आयोजकले जनाएको छ ।