कैलाशको ५३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाले १६ औं गाउँसभाको अधिवेसनले नीति तथा कार्यक्रम ल्याएसँगै ५३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा मंगलबार भएको गाउँसभाले गाउँपालिकाको मुख्य नारालाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम ल्याइएको छ । अध्यक्ष मुक्तानले पुँजी, प्रविधि, सीप र अनुभवलाई स्थानीयस्तरमा उपयोग गर्ने उद्देश्यले युवालाई लक्षित कृषिकार्यमा उत्प्रेरित गराइने बताए । एक घर एक धारा नीतिलाई प्राथमिकता दिनुका साथै एक घर एक शौचालय निर्माण गरिने उनले बताए । अध्यक्ष मुक्तानले कृषिउपज उत्पादन र बजारीकरणका लागि मासिकरुपमा हाटबजार सञ्चालन गरिने बताए ।
कृषक परिचयपत्र वितरण र पशुबीमामा अनुदानलाई प्राथमिकतामा राखिने उनले बताए । उनले चेली प्रोत्साहन कार्यक्रम, अध्यक्षसँग विपन्न कार्यक्रम, उपाध्यक्षसँग जनश्रमदान कार्यक्रम, अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रम, जेष्ठनागरिकसँग जनप्रतिनिधि कार्यक्रमलाई थप सुदृढ गरी निरन्तरता दिइने बताए । दीर्घरोगी नागरिकलक्षित गरी कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ भन्ने मुलभाव राख्दै स्वास्थ्यशिविर गरिनेछ । त्यस्तै पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै गर्भवती तथा सुत्केरी पोषण प्रवद्र्धन तथा रक्षाकार्यक्रम गरिने नीति कार्यक्रममा समावेश गरिएको छ ।
यसैगरी गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले ५३ करोड ८६ लाख २० हजारको बजेट प्रस्तुत गरेका छन् । उनले आव २०८२÷८३ मा आय २ करोड ३७ लाख १ हजार ८३० रुपैयाँ आन्तिरिक राजश्वको रुपमा, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ९ करोड ८३ लाख, सर्शत अनुदान १९ करोड ३४ लाख, राजश्व बाँडफाँड ९ करोड ६७ लाख, विशेष अनुदान ७५ लाख, समपूरक अनुदान २ करोड ५८ लाख तथा प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ९० लाख ५२ हजार, सर्शत अनुदान १३ करोड ४४ लाख ४ हजार विशेष अनुदान ६५ लाख समपूरक अनुदान २ करोड ६६ लाख र राजश्व बाँडफाँड सवारीसाधन कर ३ करोड ७६ लाख २२ हजार गरी ५३ करोड ८६ लाख २० हजार आय हुने प्रक्षेपण गरेको उपाध्यक्ष मल्लले बताए ।
उपाध्यक्ष मल्लले विनियोजन विद्येयक २०८२ प्रस्तुत गर्दै चालुखर्चतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय र पुँजीगत खर्चतर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ रहने बताए । आर्थिक विकासमा चालुतर्फ १ करोड २५ लाख ९७ हजार रहेको छ भने पूँजीगतखर्चमा एक करोड ५१ लख ६७ हजार रहेको छ । त्यस्तै, सामाजिक विकासमा चालुतर्फ २१ करोड १६ लाख १४ हजार र पूँजीगततर्फ २ करोड ३३ लाख ५० हजार रहेको छ । यसैगरी पूर्वाधार विकासमा पूँजीगततर्फ खर्च १६ करोड ४४ लाख रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालुतर्फ ७० लाख ९२ हजार एक सय र पूँजीगततर्फ २२ लाख रहेको छ ।
त्यस्तै, वातावरण तथा विपद्मा पूँजीगतखर्चमा ४३ लाख रहेको उपाध्यक्ष मल्लले बताए । गाउँपालिका प्रशासनिक खर्चमा चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार एक सय र पूँजीगतखर्चमा १० करोड रहेको छ । सभामा उपाध्यक्ष मल्लले आर्थिक विद्येयक २०८२ प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संयोजक सूर्यबहादुर ब्लोनले प्रस्तुत गरेका थिए । सभाकै अवसरमा चेली प्रोत्साहन कार्यक्रमअन्तरगत ७ जना चेलीलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कमला श्रेष्ठ, सानुमाया स्याङ्तान, पार्वती सुवेदी, राधिका तितुङ, सविना मुक्तान, एलिना मुक्तान, शर्मिला मुक्तान रहेका छन् । उनीहरुलाई २० हजार नगदसहित सम्मान गरिएको हो । सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरिएको थियो ।







