तीनवर्षको करतिरे त्यस अघिको सम्पूर्ण राजस्व छुट

साझाकुरा
२०८२ असार २३, सोमबार ११:५६

हेटौंडा- बागमती प्रदेश सरकारले सवारी साधनको करतिर्न बाँकी रहेका सवारी धनीका लागि विशेष करमिनाहा योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले पछिल्लो तीनवर्षको करतिरे त्यसअघि बाँकी रहेका वर्षको सवारीकर, दस्तुर तथा जरिवाना शतप्रतिशत मिनाहा गर्ने घोषणा गरेका थिए ।

यस योजनाबाट कर प्रणालीमा सुधार र पुराना सवारी साधनको व्यवस्थापनमा समेत सहज हुने अपेक्षा प्रदेश सरकारले लिएको बताएका छन् । योजनाअनुसार सवारीधनीले आव २०८०÷८१, २०८१÷८२ र २०८२÷८३ को कर तथा नवीकरण दस्तुर ०८३ जेठ मसान्तभित्र बुझाएमा, त्यसअघि बाँकी रहेका वर्षको सवारीकर, दस्तुर तथा जरिवाना शतप्रतिशत मिनाहा गरिनेछ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले आर्थिक वर्ष २०८१÷८२ सम्म प्रचलित कानुनअनुसार कर नबुझाएका र सवारी दर्ता प्रमाणपत्र नवीकरण नगरेका सवारीधनीलाई यो छुट दिइने जानकारी दिए । उनले यसबाट सवारीधनीलाई करतिर्न सहज हुने र प्रदेश सरकारलाई राजस्व संकलनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्पष्ट पारे । संघ, प्रदेश र स्थानीय सरकार अन्तर्गतका प्रयोग गर्न नसकिने तथा मर्मतसम्भार गरी उपयोगमा ल्याउन नमिल्ने सवारी साधनको हकमा पनि छुटको व्यवस्था गरिएको सचिव मैनालीको भनाइ छ ।

यातायात मन्त्रालयको स्वीकृतिमा त्यस्ता सवारीको बाँकी राजस्व मिनाहा गरी दर्ता कार्यालय मार्फत् लगतकट्टा गरी स्वामित्व रहेको कार्यालयबाट लिलामी प्रक्रिया अघि बढाउन सकिने उनले बताए । ‘बागमतीमा दर्ता भएका २० वर्ष पुराना सार्वजनिक सवारी साधनका हकमा पनि यो योजना लागू हुन्छ,’ उनले भने । यातायात ब्यवसायीले भने राम्रो कण्डिसनमा रहेका र ईन्जिनको हेल्थ राम्रो अवस्थामा रहेका सवारीसाधनलाई रिरुट गरी संचालन गर्ने अनुमति दिन माग गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*