गौरीटारमा निर्माणाधीन क्रिकेट रंगशालाले गति लियो

साझाकुरा
२०८२ श्रावण ६, सोमबार ११:५४

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटारमा निर्माण भइरहेको क्रिकेट रंगशालाको काम तीव्रगतिमा अघि बढिरहेको छ । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सहकार्यमा निर्माण भइरहेको रंगशाला आधुनिक पूर्वाधारसहितको बन्ने लक्ष्य छ । रंगशालामा अहिले मुख्य पिच, मैदानको संयोजन, तारबार र एक साइडको दर्शकदीर्घा (स्ट्यान्ड) निर्माण भइसकेको छ ।

मैदानको चारैतिर घेराबार गरिएको छ भने मैदानको छेउमा हरियाली र व्यवस्थित ग्रीन आउटफिल्ड विकास भइरहेको छ । रंगशालाको पूर्वीभागमा पिचको संरचना तयार पारिएको छ भने चारैतिर बलबाउन्ड्रीको लागि तारबारको काम पूरा भएको छ । रंगशालाको एकछेउमा आधुनिक छानावाला स्ट्यान्ड बनाइएको छ, जहाँ दर्शक बस्ने व्यवस्था छ ।

मैदानको ग्रीन आउटफिल्ड सजिएको छ, पृष्ठभूमिमा पहाड र हरियालीले दृश्यलाई अझ रमणीय बनाएको छ । रंगशाला तयार भएसँगै मकवानपुर जिल्लाका क्रिकेट प्रतिभाहरुलाई अभ्यास र प्रतियोगिताको स्थायी पूर्वाधार उपलब्ध हुनेछ । साथै, भविष्यमा प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशालामा १२ करोड र स्विमिङ पुल निर्माणका लागि नौ करोड रुपैयाँ विनियोजन गरेको थियो । क्रिकेट रंगशालामा पहिलोचरणमा ६ सयभन्दा बढी दर्शक क्षमताको एउटा प्यारापिट बन्नेछ ।

यसअघि शिलान्यास भएको १७ वर्षपछि गौरीटार फुटबल रंगशालाको उद्घाटन भएको थियो । फुटबल रंगशालाले पूर्णता पाउन डेढ दशक लागेको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामातामाङले रंगशालाको उद्घाटन गरेका थिए । निर्धारित मिति अनुसार २०८१ पुस २९ मा रंगशालाका सबै निर्माणकार्य सकिनुपर्ने थियो । २०७४ मा प्रदेश सरकारको मातहत आएपछि रंगशालाको भौतिक निर्माणले गति लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*