फोटो टाँस्नको लागि मात्र मुख्यमन्त्री भएको होइनः बानियाँ

साझाकुरा
२०८२ श्रावण २४, शुक्रबार ११:३७

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र मन्त्रालयमा फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।नेपाल किसान महासंघ वागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीवार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । पारदर्शी, उत्तरददायी र जनताप्रतिको जिम्मेवार भएर कामगर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाई छ । अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उनले बताए । मुख्यमन्त्री बानियाँले आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नको पक्षमा हुनेगरी गरेकोे जानकारी दिए । गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरिया मध्येका छोराछोरीलाई प्रदेश सरकारले २÷२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशुचिकित्सक डाक्टर गरी ६ जनाललाई छात्रवृत्तिमा डाक्टर पढाउने उनले बताए ।

प्रदेश सरकारले गरिवका १० वटी छोरीलाई नर्स पढाउने निर्णय पनि गरिसकेको मुख्यमन्त्री बानियाँले जानकारी दिए । ‘पारदर्शी, उत्तरदायी, जिम्मेवार र जनताप्रतिको बफादार भएर काम गर्ने लक्ष्य सहित म मुख्यमन्त्री भएको हो । पदको लागि, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन । त्यसकारणले मैले पहिले नै सन्देश चाहिँ दिइसकेको छु, अहिलेसम्म अरु मुख्यमन्त्रीले के गरे गरेनन्, तपाईहरु हेर्नुहोला’ मुख्यमन्त्री बानियाँले भने, ‘मैले पहिलो निर्णय नै वागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाका छोराछोरीमध्यबाट अहिलेलाई २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशुचिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरेँ ।

गरिबका छोरी १० जना किशोरीलाई नर्स पढाउने निर्णय गरिसकेँ । अर्को कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविद्या म लिन्न ।’ मुख्यमन्त्री बानियाँले आफूले मुख्यमन्त्रीको हैसियतले पाउने तलवभत्ता लगायत सुविद्या पनि नदिने बताए । आफूले पाउने तलबभत्ता आफ्नो निर्वाचन क्षेत्रका गरिब, निमुखा जनताको पक्षमा काम गर्नको लागि दिने उनले जानकारी दिए । मुख्यमन्त्री बानियाँको निर्वाचन क्षेत्रमा मनहरी, राक्सिराङ, कैलाश गाउँपालिकाको २२ वटा वडा र हेटौंडा उपमहानगरको २ वटा वडा पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*