तोकेको समयमा स्वास्थ्य बीमा नवीकरण नगरे थप शुल्क लाग्ने

हेटौंडा-तोकिएको समयमा स्वास्थ्य बीमा नवीकरण नगरेमा थप शुल्क लाग्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सूचना जारी गर्दै बीमित परिवारले तोकेको समयभित्र बीमा नवीकरण नगरे थप शुल्क लाग्ने व्यवस्था गरेको जानकारी गराएको छ । सूचनाअनुसार बोर्डले विगतमा स्वास्थ्य बीमा गरी नवीकरण नगरेका बीमित परिवारलाई आगामी असोज मसान्तसममा बीमा नवीकरण गरेमा एकपटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।
बोर्डले असोज मसान्तभित्र नवीकरण गरेमा कुनै थप शुल्क नलाग्ने निर्णय गरेको हुँदा अनलाइन प्रणाली वा दर्ता सहयोगीमार्फत् बीमा नवीकरण गर्न बोर्डले सम्पूर्ण बीमितलाई अनुरोध गरेको छ । यो अवधिपछि म्याद गुजारी नवीकरण गर्ने बीमित परिवारलाई थप शुल्क लाग्ने बोर्डको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्ने छ । छ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्ने, छ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्ने व्यवस्था गरेको छ । त्यसैगरी, एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत थप शुल्क लाग्ने, दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्ने र तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चारगुणा बराबरको शुल्क लाग्ने बोर्डले सूचनामा उल्लेख छ ।