बागमतीका मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा लामा नियुक्त

प्रदेश प्रवक्ताको जिम्मेवारी तामाङलाई
साझाकुरा
२०८२ भाद्र १३, शुक्रबार ११:१५

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामालाई नियुक्त गरेका छन् ।बिहीबार बसेको मन्त्रि परिषद्को बैठकले कांग्रेस मकवानपुरका सभापतिसमेत रहेका लामालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । त्यसैगरी बैठकले प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई प्रदान गरेको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ रहेका थिए । बैठकले जिल्ला समन्वय समिति सहयोग कार्यक्रमअन्तर्गत १३ जिल्लाका जिल्ला समन्वय समितिलाई ४०–४० लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने बजेट अख्तियारी दिने निर्णय गरेको छ ।

यसैगरी भरतपुर महानगरपालिका र अस्ट्रेलियाको मेरिबीच सिटी काउन्सिलबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श गर्न आवश्यक स्वीकृति दिने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभिन्न मन्त्रालयमा छ जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ । निर्णयअनुसार ईश्वरचन्द्र मरा भौतिक पूर्वाधार विकास मन्त्रालयमा, इन्द्रदेव भट्ट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा, बलराम ढकाल श्रम तथा यातायात मन्त्रालयमा, झलकराम अधिकारी आर्थिक मामिला तथा योजना मन्त्रालयमा, इन्द्रदेव भारती युवा तथा खेलकुद मन्त्रालयमा र पूर्णबहादुर दर्जी सामाजिक विकास मन्त्रालयमा सचिवमा पदस्थापित भएका छन् ।

त्यस्तै बैठकले करार र अस्थायी कर्मचारीलाई यसअघि उपलब्ध गराउँदै आएको २ हजार महँगी भत्तामा वृद्धि गरी ५ हजार उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षका लागि मन्त्रालयहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*