आन्तरिक सुशासन नहुँदा कांग्रेसभित्र विकर्षण बढ्योः सहमहामन्त्री डीना
हेटौंडा- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले कांग्रेसभित्रको सुशासन राम्रो नहुँदा विकर्षण बढेको बताएकी छन् । ‘हाम्रै कार्यकर्ताले आफ्नै नेताहरुलाई गाली गर्ने प्रवृत्तिलाई थप बल पुगेको छ,’ उनले भनिन्, ‘आन्तरिक विषयवस्तुलाई बचाएर लैजानुपर्ने अवस्था छ ।’ कांग्रेस पाल्पाले शनिबार तानसेनमा राखेको कार्यकर्ता भेटमा उनले पार्टीकै नेता, कार्यकर्ताले यस्ता विषयलाई बचाएर लैजानुपर्नेमा जोड दिइन् । ‘पार्टी भित्रको विकर्षण जनताले होइन, पार्टीकै नेताले जन्माएको हो,’ उनले भनिन्, ‘जनता आजसम्म कांग्रेसको विरुद्धमा बोलेको देखेको सुनेको छैन ।’ ससाना विषयवस्तुलाई कांग्रेसले मतलब नगर्दा पनि थप समस्या आएको बताउँदै वडा, पालिका, जिल्ला, प्रदेश, संघमा जनताले पाएको दुःखका विषयवस्तुलाई कांग्रेसका नेता, कार्यकर्ताले सहजीकरण गरेर अघि बढ्न उनले आग्रह गरिन् ।
‘पार्टीको विकर्षणमा अन्य पार्टीको भन्दा पनि आफ्नै भित्रको समस्या हो,’ उनले भनिन्, ‘महत्वपूर्ण साथीहरुले पार्टी छाडेको देखिए पनि ती साथीहरु जाँदा पार्टी नै सकियो भन्दै नकारात्मक विषयलाई नउचाल्दा नै राम्रो हुन्छ ।’ उनले पार्टीभित्र न्याय नपाएर पार्टी नै छाडेर जानेहरुको गुनासो सुन्नुपर्नेमा नसुनेकाले अहिले समस्या आएको बताइन् । आम पार्टीका कार्यकर्ताले अन्याय भयो भन्नेहरुको संख्या बढेको बताउँदै त्यसको अभिलेखीकरण गर्दै सबैलाई न्याय दिने वातावरण बनाउनुपर्नेमा सहमहामन्त्री उपाध्यायको भनाइ छ ।
विकर्षण घटाउने उपाय पार्टीका हरेक तहबाट खोजी हुनुपर्ने पर्ने बताउँदै पार्टीको नीतिले मुलुकको परिवर्तन गर्ने अठोट र प्रतिबद्धता लिनुपर्ने बेला अहिले नै भएको उनले बताइन् । सहमहामन्त्री उपाध्यायले तानसेनमा पार्टी कार्यकर्तासँगको भेटमा मुलुकको परिवर्तनको बाटो कांग्रेसका नेता तथा कार्यकर्ताले नै तय गर्नुपर्नेमा जोड दिइन् । जनताको विश्वास कांग्रेसप्रति अहिले पनि रहेको तर, पार्टीभित्रैबाट गलत प्रचार हुँदा समस्या निम्तिएकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।
कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, सचिव सन्तोष थापा मगर, सुनिता अधिकारी, कोषाध्यक्ष मोहनप्रसाद श्रेष्ठ, पूर्वसचिव माधव नेपाललगायतले पार्टीमा आकर्षण गराउने नीति तथा कार्यक्रम ल्याउन आग्रह गर्दै सुशासन, पारदर्शीता र जवाफदेहिताका लागि खेल्नुपर्ने भूमिकाका विषयमा सुझाव दिएका थिए ।







