स्व.साइमन योन्जन स्मृति रनिङशील्ड फुटसल २०८२ हुने
हेटौंडा- मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले दिवंगत युवा खेलाडी स्व. साइमन योन्जनको स्मृतिमा साइमन योन्जन स्मृति रनिङ्शील्ड फुटसल प्रतियोगिता २०८२’ आयोजना गर्ने भएको छ । बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत् समितिले प्रतियोगिता आगामी असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगिता मकवानपुरगढी–३ स्थित भानु फुटसलमा हुने समितिका अध्यक्षहीराबाबु स्याङ्तानले जानकारी दिएका छन् । गत असोजमा कुलेखानी–सिस्नेरीक्षेत्रको पहिरोमा परेर ज्यान गुमाएका साइमनको योगदानलाई सम्झँदै प्रतियोगिता आयोजना गरिएको अध्यक्ष स्याङ्तानले बताएका छन् । प्रतियोगिता खुल्ला फुटसल विधामा हुने छ ।
कार्यक्रम संयोजक तथा समितिका सदस्य बिक्रम योन्जनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ६५ हजारसहित मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै अन्य बिधागत उत्कृष्ट खेलडीलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ । संयोजक योन्जनले प्रतियोगितामार्फत् दिवंगत खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै मकवानपुरमा खेलकुदको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, समिति सदस्य समेत रहेका साइमनका पिता हेम योन्जनले प्रतियोगिताले साइमनको स्मृतिलाई सुरक्षित राख्नुका साथै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्य बोकेको बताएका छन् ।
उनका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकास गर्ने, खेलकुद गतिविधिलाई संस्थागत गर्दै समुदायमा अनुशासन, भाइचारो र स्वस्थ्य जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले ५ हजार शुल्क बुझाउनु पर्नेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न पालिकाले ५ लाख प्रायोजन गरेको छ ।







