कांग्रेसका महामन्त्री गगन थापा भदौ २४ मा हेटौंडा आउने
हेटौंडा-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा भाद्र २४ गते हेटौंडामा आउने भएका छन् । १ सय १२ औं वीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ ‘ख’ ले आयोजना गर्ने भेलालाई सम्बोधन गर्न थापा हेटौंडा आउन लागेको शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा मकवानपुरको प्रदेशसभा क्षेत्र नम्बर १ ‘ख’ सभापति राजेश बानियाँले महामन्त्री थापासँगै कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ सहभागी हुने जानकारी दिए ।
कार्यक्रममा जिल्लाभरका करिब दुई हजार कांग्रेस कार्यकर्ता र सुभेच्छुकको सहभागिता रहने अनुमान गरिएको उनले बताए । त्यसैगरी कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कार्यक्रम नीतिगत नभई सन्देशमूलक हुने जानकारी दिए । कार्यक्रममा महामन्त्री थापाले समसामयकि परिस्थितिको साथै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र आसन्न भारत भ्रमणको विषयमा धारणा राख्ने र कोषाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रका चुनौती र सम्भावनाबारे धारणा राख्ने सभापति लामाले बताए ।
‘कांग्रेस महामन्त्री थापाले विशेष भेलामा पार्टीको समसमायिक विषय, प्रधानमन्त्री ओलीको चीन भ्रमण सन्दर्भ र कार्यसम्पादन समितिको विषयमा जानकारी दिनुहुन्छ । कांग्रेस मकवानपुर जिल्ला सदस्य, कार्यकता र जनप्रतिनिधिलाई पार्टीका विधि, विधान र काम कारबाहीबारे विशेष सन्देश दिने कार्यतालिका तय भएको छ’ उनले भने । भेलामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहित मन्त्रीहरुको पनि उपस्थिति रहने बताइएको छ । कांग्रेस मकवानपुर जिल्ला सदस्य, कार्यकता र जनप्रतिनिधिलाई पार्टीका विधि, विधान र काम कारबाहीबारे विशेष सन्देश दिने कार्यतालिका तय भएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, कांग्रेस मकवानपुर क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाललगायतको सहभागिता रहेको थियो ।







