बागमती प्रदेश सरकारले क्षतिको विवरण संकलन गर्ने

हेटौंडा- बागमती प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको क्षतिको विवरण संकलन गर्ने भएको छ ।आन्दोलनका कारण प्रदेशका सरकारी संरचनामा भएको क्षतिको मूल्यांकन तथा पुनर्निर्माणको कामलाई तीव्रता दिन कार्यदल गठन गरिएको छ । प्रदेशका प्रमुखसचिव भुपाल बरालको अध्यक्षमा मंगलबार बसेको बैठकले प्रदेश सरकार अन्तर्गतका भवन तथा भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययन, विश्लेषण गरी पुनर्निर्माण र सञ्चालनको सम्भावना, अनुमानित लागतसहित प्रतिवेदन पेस गर्न उच्चस्तरीय कार्यदल गठन गरिएको छ । बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्रमरहठ्ठा संयोजक रहेको ४ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भूषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी रहेका छन् । कार्यदललाई शीघ्र सम्पूर्ण विवरण संकलन गरी समितिको प्रतिवेदन पेस गर्न निर्देशन गरिएको छ । बैठकले कार्यदलमार्फत आन्दोलनबाट मन्त्रालय र मातहतका कार्यालयमा भएको क्षतिको मौद्रिक मूल्यसहितको विस्तृत विवरण असोज ५ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनिवार्यरुपमा पेस गर्न सबै विषयगत मन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यसैगरी, आन्दोलनको क्रममा लुटपाट, तोडफोड तथा आगजनीबाट क्षति भएका सम्पत्ति र कागजातको सुरक्षा निकायसँगको समन्वयमा तत्काल कानुनी मुचुल्का तयार गर्ने निर्णय भएको छ । मुचुल्काको आधारमा क्षतिअनुसार बीमा दाबी लगायत प्रक्रिया अगाडि बढाउन पनि बैठकले निर्देशन दिएको छ । क्षतिग्रस्त मन्त्रालय तथा कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध हुन नदिन तत्काल सम्भाव्य स्थान पहिचान गरी कार्यालय सञ्चालनको प्रबन्ध मिलाउन पनि बैठकले निर्णय गरेको छ ।
कार्यालय सञ्चालनमा देखिएको कठिनाइलाई मध्यनजर गर्दै भवन तथा संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई भनिएको छ । बैठकले आन्दोलनको क्रममा क्षति वा नष्ट भएका सरकारी सवारी साधनको विवरण पनि तोकिएको ढाँचामा ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।