कुल बजेटको १ दशमलब ८१ प्रतिशत बजेट खर्च

साझाकुरा
२०८२ आश्विन ७, मंगलवार १०:५५

हेटौंडा-चालु आर्थिक वर्षको दुई महिनामा बागमती प्रदेशले १ दशमलब ८१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयको विवरणअनुसार प्रदेश सरकारले कुल विनियोजित बजेट ६७ अर्ब ४७ करोड रुपैयाँमध्ये साउन र भदौ महिनामा १ अर्ब २२ करोड २९ लाख अर्थात १ दशमलब ८१ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । चालुतर्फ १ अर्ब ७ करोड अर्थात् ४ दशमलब १३ प्रतिशत र पूँजीगत तर्फ १४ करोड ६२ लाख अर्थात ० दशमलब ३५ प्रतिशत बजेट खर्च भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ करोड बजेट अर्थात ५ दशमलब ७७ प्रतिशत बजेट खर्च गरेको छ ।

सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले ७३ लाख ३५ हजार अर्थात ० दशमलब २० प्रतिशत बजेट खर्च गरेको छ । त्यसैगरी स्वास्थ्य मन्त्रालयले ३ दशमलब ८२ प्रतिशत अर्थात् १५ करोड १५ लाख, सामाजिक विकास मन्त्रालयले १३ करोड ४ लाख अर्थात् २ दशमलब ९९ प्रतिशत, युवा तथा खेलकुद मन्त्रालयले ८१ लख ८१ हजार अर्थात् ० दशमलब ७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका अधिकृत इन्द्रराज संज्यालले जानकारी दिए ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको ११ करोड ९० लाख अर्थात् ० दशमलब ४८ प्रतिशत, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ५३ लाख २६ हजार अर्थात् २ दशमलब ०७ प्रतिशत, वन तथा वातावरण मन्त्रालयको १४ करोड ५३ लाख अर्थात् ३ दशमलब ६४ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड १६ लाख अर्थात् ३ दशमलब ४९ प्रतिशत, खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको ५ करोड १४ लाख अर्थात् ० दशमलब ७१ प्रतिशत, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको ७ करोड ५७ लाख अर्थात् २ दशमलब ८८ प्रतिशत, उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्रालयको २ करोड ७३ लाख अर्थात् ३ दशमलब ५० प्रतिशत बजेट खर्च भएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड १२ लाख अर्थात ५ दशमलब १४ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १ करोड ५० लाख अर्थात् २ दशमलब ७९ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोततर्फ कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ अनुमान गरेको थियो । संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ, सञ्चितकोष विविध प्राप्ति १६ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ खर्च व्यहोर्ने स्रोत अनुमान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*