हेटौंडा उपमहानगरमा ३२ करोड बढीको क्षति, सेवाप्रवाह प्रभावित

साझाकुरा
२०८२ आश्विन ८, बुधबार ११:५९

हेटौंडा-भदौ २३ र २४ गतेको जेनजी युवाको आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा हेटौंडा उपमहानगरपालिकाको भौतिक सम्पत्तिमा ठुलो क्षति पुगेको छ ।उपमहानगरपालिकाले सवारीसाधनदेखि भवन र महत्वपूर्ण अभिलेखसम्म गुमाउँदा सेवाप्रवाहमा समेत असर परेको छ । उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठित क्षति मूल्यांकन समितिले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट उपमहानगर पालिकामा करिब ३२ करोड ५० लाख ७० हजार रुपैयाँबराबरको क्षति भएको तथ्यांक निकालेको छ । समितिका संयोजक तिमल्सिनाका अनुसार उपमहानगरपालिकाको हेटौंडा–२ स्थित मुख्य भवनसहित १, ३, ४, १०, ११, १५ र १९ नम्बर वडा कार्यालयमा क्षति पुगेको छ ।

उनकाअनुसार ११, १५ र १९ नम्बर वडा कार्यालय भवनमै आगजनी र तोडफोड भएको छ भने अन्य वडामा तोडफोडसहित सामान बाहिर निकालेर जलाइएको छ । यस्तै हेटौंडा–११ स्थित प्रादेशिक कृषि थोकबजारमा समेत ठुलो क्षति पुगेको छ । प्राविधिक मूल्यांकन अनुसार उपमहानगरको भवनमा मात्रै १६ करोड ३७ लाख ८८ हजार रुपैयाँबराबरको क्षति भएको संयोजक तिमल्सिनाको भनाइ छ । उनकाअनुसार १८ वटा विभिन्न प्रकारका चारपांग्रे सवारीसाधनमध्ये नौवटा पूर्णरुपमा ध्वस्त भएका छन् भने १७ वटा मोटरसाइकल, तीनवटा स्कुटर, एउटा अटो जलेट नष्ट भएका छन् । उपमहानगरका सवारीसाधन पूर्णरुपमा क्षतिग्रस्त हुँदा करिब ६ करोड ७३ लाख ४० हजार
रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

विभिन्न वडा कार्यालय र सेवाकेन्द्रसमेत प्रभावित भई थप आर्थिकभार परेको मूल्यांकन समितिका संयोजक तिमल्सिनाले बताए । ‘आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट उपमहानगरपालिकामा ३२ करोड भन्दा बढीको क्षति भएको देखिन्छ,’ उनले भने, ‘उपमहानगरको मुख्य भवन, केही वडा कार्यालय, सवारी साधन र महत्वपूर्ण कागजात र अभिलेखमा क्षति भएको छ ।’ क्षति मूल्यांकन समितिका संयोजक तिमल्सिनाले जिन्सी शाखा र राजस्व शाखा पूर्णरुपमा क्षतिग्रस्त हुँदा महत्वपूर्ण अभिलेख नष्ट भएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकामा हाल राजस्व संकलनकार्य पूर्णरुपमा ठप्प छ भने स्वास्थ्य महाशाखा, सामाजिक विकास शाखा र पूर्वाधार शाखाबाट अत्यावश्यक सेवा भने निरन्तर प्रदान भइरहेको छ ।

उपमहानगरप्रवक्ता सविन न्यौपानेले आन्दोलनले हेटौंडा उपमहानगरको लामो इतिहास मासिएको दाबी गरे । प्रवक्ता न्यौपानेका अनुसार स्थापना काल देखिका महत्वपूर्ण दस्ताबेज जलेर नष्ट भएका छन् । योजना शाखामा रहेका विभिन्न २५ कम्पनीका भुक्तानीसम्बन्धी फाइलसमेत जलेर नष्ट भएको उनले जानकारी दिए । न्यौपानेका अनुसार उपमहानगरपालिकामा भएको आगजनी र तोडफोडले आमसर्वसाधारणदेखि विभिन्न पेसा–व्यवसायी प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*