पहिलो ३ महिनामा बागमतीमा ६ दशमलब १९ प्रतिशत बजेट खर्च
हेटौंडा-चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको छ दशमलव १९ प्रतिशत अर्थात् ४ अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा साउनदेखि असोजसम्ममा चार अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । मन्त्रालयहरु मध्ये सबैभन्दा धेरै आर्थिक मन्त्रालयले १२ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले शून्य दशमलव ८० प्रतिशत बजेट खर्च गरेको गरेको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले ११ दशमलब ०४ प्रतिशत, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले ६ दशमलब २५, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले ५ दशमलब ३५, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयले २ दशमलब ५९, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७ दशमलब ०१, वन तथा वातावरण मन्त्रालयले ६ दशमलब ८१, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४ दशमलब ६४, भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ दशमलब ९६, युवा तथा खेलकुद मन्त्रालयले १ दशमलब ५४, सामाजिक विकास मन्त्रालयले ५ दशमलब ६२, स्वास्थ्य मन्त्रालयले ११ दशमलब ०४, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १० दशमलब २२ प्रतिशत बजेट खर्च गरेको छ ।
गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए ।








