२५ लाख ७६ हजार श्रमिकको सामाजिक सुरक्षा कोषमा ९३ अर्ब जम्मा
हेटौंडा- सामाजिक सुरक्षा कोषले सञ्चालन गर्दै आएको सुरक्षा योजना, सामाजिक सुरक्षा योजना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ ।पछिल्लो समय कोषमा आवद्ध हुने श्रमिकको संख्या बढ्दै गएको हो । कोषका अनुसार आवद्ध हुने योगदानकर्ता र रोजगारदाताको सूचिकरण तथा योगदान रकम संलकनमा उल्यलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ८ लाख ८२ हजार ९ सय ४६ नयाँ श्रमिक सूचिकृत भएका थिए ।
हालसम्म २२ हजार ७६ रोजगारदाता संस्था कोषमा आवद्ध भइसकेका छन् । तर, औपचारिकक्षेत्रका श्रमिक धेरै आवद्ध भइसक्दा अनौपचारिक क्षेत्रका श्रमिकको संख्या धेरै कम छ । कोषकाअनुसार औपचारिकक्षेत्रका ६ लाख ४० हजार श्रमिक आवद्ध छ भने अनौपचारिकक्षेत्रका जम्मा ७९४ श्रमिक मात्रै सहभागी भएका छन् । तुलनात्मक रुपमा औपचारिक क्षेत्रमा काम गर्ने धेरै सामाजिक सुरक्षामा रहेको देखिएपनि अझै पनि धेरै औपचारिकक्षेत्रमै काम गर्नेहरु सामाजिक सुरक्षामा छैनन् । पछिल्लो श्रम सर्वेक्षण, २०७५ अनुसार श्रम बजारमा ७० लाख ८६ हजार जना रोजगारीमा छन् ।
त्यसमा औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार कार्यरत छन् । अनौपचारिकक्षेत्रमा ४४ लाख ११ हजार छन् । अनौपचारिकको सबैभन्दा ठूलो हिस्सा कृषि, वन र मत्स्यपालनक्षेत्रमा २१ दशमलव ५, निर्माणक्षेत्रमा १३.८, खुद्रा व्यापारको क्षेत्रमा १७.५ र यातायातक्षेत्रमा ४.५ प्रतिशत रहेको देखाएको थियो । सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जाने श्रमिक बढी आबद्ध भएका छन् । १९ लाख ३४ हजार भन्दा बढी वैदेशिक रोजगारीमा जाने श्रमिकले सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका छन् । वैदेशिक रोजगारीमा जानुपूर्वक अनिवार्य सामाजिक सुरक्षामा जानुपर्ने सरकारले बनाएका बाध्यात्मक व्यवस्थाले कामदारहरु प्रक्रिया पु¥याउनका लागि जाने गरेका छन् तर, उनीहरुले नियमित जम्मा भने गर्ने गरेका छैनन् ।
अहिलेसम्म सामाजिक सुरक्षा कोषले ९३ अर्ब रुपैयाँ योगदानकर्ताबाट संकलन गरिसकेको छ । यो रकम धेरैजसो बैंकमा राखेर कोषले ब्याज खाइरहेको छ । सामाजिक सुरक्षा ऐन, कार्यविधि अनुसार यो रकम उत्पादनशील क्षेत्रमा, प्रतिफल दिने क्षेत्रमा लगाउनुपथ्र्यो । कोषका प्रवक्ता कृष्ण अधिकारीले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन निरन्तर लागिएको बताए । उनकाअनुसार सेवाप्रवाह प्रभावकारी बनाउन १ सय ७ स्वास्थ्य संस्थासँग समन्वय गरी स्वचालित सेवाप्रणाली जडान गरिएको छ भने स्वास्थ्यसेवाको पहुँच अब योगदानकर्ताको परिवारमा समेत विस्तार भएको छ । अस्पतालमा भर्ना भएर गरिने उपचारमा १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा लागू गरिएको छ ।
आगामी चार वर्षभित्र कोषमा आवद्ध श्रमिक र उनीहरुको परिवारको स्वास्थ्यसेवा राज्यले नै लिने लक्ष्य रहेको छ । कोषमा जम्मा भएको रकमलाई सही ठाउँमा परिचालन गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ ।







