भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो

साझाकुरा
२०८२ कार्तिक २२, शुक्रबार १५:४८

हेटौंडा- मकवानपुरमा बिहीबारदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने अभियान अन्तर्गत जिल्लाभरका बालबालिकालाई औषधि खुवाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ३४ हजार २ सय ३५ बालबालिकालाई भिटामिन ‘ए’ र ३० हजार ४ सय ४१ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

तीमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरका १६ हजार ९१ बालबालिकालाई भिटामिन ‘ए’ र १४ हजार २ सय ३ जनालाई जुकाको औषधि खुवाइनेछ । अभियान सफल बनाउन जिल्लाका १० वटै स्थानीय तहमा ४ सय ७२ महिला स्वास्थ्यस्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य अधिकृत बासुदेव रिमालले जानकारी दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा ९२, मनहरीमा २१,राक्सिराङमा ३८, कैलाशमा ४२, भीमफेदीमा ५०, बागमतीमा ३२, बकैयामा ६५, मकवानपुरगढीमा ४०, इन्द्रसरोवरमा ३७ र थाहा नगरपालिकामा ५४ जना स्वयंसेविका खटाइएका छन् । जिल्लाभरका ४ सय ७२ केन्द्रमार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ । अभियानका क्रममा स्वयंसेविकाले बालबालिकाको पाखुराको नाप लिनुका साथै बालभिटा समेत वितरण गरिरहेका छन् ।

नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउने गरेको छ । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते मा गरेर यो कार्यक्रम सञ्चालन गरिन्छ । यसवर्ष भने तिहार परेकाले कात्तिक २ र ३ गते यो कार्यक्रम २० र २१ गतेका लागि गरिएको हो । बालबालिकाले दैनिक भोजनबाट आवश्यक भिटामिन प्राप्त गर्न नसक्ने भएकाले, वि.सं. २०५० सालदेखि नेपाल सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सरकारले सबै स्थानीय तहमा ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने र करिव ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । यस अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*