औषधि र मेडिकल सामग्री खरिद अनिवार्य बोलपत्रमार्फत् मात्र

साझाकुरा
२०८२ कार्तिक २४, आईतवार ११:४६

हेटौंडा- बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्यका बेथिति अन्त्य गर्ने लक्ष्यका साथ औषधि, सर्जिकलका सामानदेखि उपकरणसम्मको खरिदमा जिल्ला अस्पतालले अनिवार्य बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ ।यसअघि जिल्ला अस्पतालले औषधिदेखि औषधिजन्य स्वास्थ्य सामग्री खरिदका क्रममा टुक्राटुक्रा पारेर महिनैपिच्छे बिचौलियाको दबाबमा औषधि खरिद गर्ने गरेको सूचना पाएपछि मन्त्रालयले प्रदेश अन्तर्गतका जिल्ला अस्पताललाई यस्तो निर्देशन दिएको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले प्रदेशअन्तर्गतका जिल्ला अस्पताललाई औषधि एवं औषधिजन्य उपकरण खरिदमा अनिवार्य बोलपत्र आह्वान गर्नुपर्ने निर्देशन जारी गरेको जानकारी दिए । जिल्ला अस्पताल एवं स्वास्थ्य संस्थाले २० लाख रुपैयाँसम्मको खरिदमा बोलपत्र आह्वान नगरी सीधै खरिद गर्न सक्ने नियममा टेकेर बिचौलियाको प्रभावमा अस्पतालले पटकपटक गरेर महिनैपिच्छे औषधि एवं औषधिजन्य पदार्थखरिद गरी अनियमितता गरेको आरोप लाग्दै आएपछि मन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्यमन्त्री थापाले भने, ‘हामी बिरामीको स्वास्थ्यका लागि बजेट विनियोजन गरिरहेका हुन्छौं तर, केही बिचौलियाले नेताहरु तथा उपल्लोनिकायको हवाला दिँदै जिल्लाका जनस्वास्थ्य प्रमुखहरु, अस्पतालका निर्देशकदेखि प्रशासन सम्मलाई दबाब दिने र कतै मिलोमतो गरेर टुक्राटुक्रा पारेर एक आर्थिक वर्षसम्ममा करोडभन्दा बढीको खरिद गरेको पाइएपछि यस्ता बेथितिलाई रोक्न मन्त्रालयले १० लाखसम्मको औषधि एवं अन्य सामग्री खरिदमा पनि अनिवार्य बोलपत्र प्रक्रिया पूरा गर्न निर्देशन दिएका हौँ, यो कार्यान्वयनमा आउँछ ।’ उनले प्रदेशका १३ वटै अस्पताललाई चालु आर्थिक वर्षदेखि नै यो निर्देशनलाई कार्यान्वयनमा ल्याउन परिपत्र गरेको बताउँदै स्वास्थ्य मन्त्रालयमा समेत बिचौलियाले प्रभाव पार्न खाजेको बताए ।

मन्त्री थापाले मन्त्रालय देखि अस्पतालसम्मका कर्मचारीलाई बढुवा गरिदिने, कतिपयलाई राम्रो अस्पतालमा सरुवा गरिदिने, कतिपयलाई अस्पतालका निर्देशक बनाइदिन्छु भन्दै खरिद प्रक्रियामा प्रभाव पार्ने गरेको पाइएपछि मन्त्रालय यसलाई रोक्न लागिपरेको बताए । केही अस्पतालका निर्देशकले औषधि एवम् औषधिजन्य सामान खरिदमा टुक्रा पारेर सीधैँ खरिद नगरी बोलपत्र आह्वान गरेमा सरुवा गरिदिने धम्की बिचौलियाले दिएको जानकारी गराएको बताउँदै स्वास्थ्य क्षेत्रका यस्ता गलतकार्य रोक्न लागिरहेको मन्त्री थापाले बताए ।

मन्त्रालयका कर्मचारीदेखि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र अस्पतालका निर्देशक एवं कर्मचारी, जनप्रतिनिधिसमेतको मनोबल गिर्नेगरी बिचौलियाले बजेट र कार्यक्रम नभएको शीर्षकमा पनि सामान खरिद गर्न दबाब दिने गरेको, धम्कीपूर्ण फोन र म्यासेज गर्ने गरेको पाइएपछि मन्त्रालयले बिचौलिया रोक्न १० लाख रुपैयाँसम्मको सामान खरिदमा पनि अनिवार्य बोलपत्र आह्वान गर्ने व्यवस्था लागू गरेको मन्त्रालयका भनाइ छ । स्वास्थ्य मन्त्रालय आपूर्ति महाशाखाप्रमुख अर्जुन सापकोटाले बिचौलियाको पटकपटकको धम्कीले कर्मचारी आजित बनेको बताए ।

कर्मचारीका विरुद्ध बिचौलियाले अनावश्यक एवं झुटा समाचार लेखाएर जेनजी वा कसैको नाममा मन्त्रालय तोडफोड भयो वा कर्मचारीमाथि हातपात भयो भने त्यसको जिम्मा कसले लिने भन्दै मन्त्रालयका कर्मचारीले बिचौलिया अन्त्य गर्न सिंगो सरकार र जनप्रतिनिधिले साथ दिन माग गरेका छन् । बिचौलियाले मन्त्रालयको आपूर्ति महाशाखादेखि सचिवसम्मलाई, विभिन्न अस्पतालका निर्देशक र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखलाई आफूहरुसँग भएका सामान खरिद गरिदिन र आर्थिक वर्षको अन्त्य आउन लाग्दा मिति सकिन लागेको सामानसमेत खरिद गरिदिन दबाब दिने गरेका पाइएको छ ।

मन्त्रालयका अनुसार अस्पताल र जनस्वास्थ्य प्रमुखलाई बिचौलियाले आफूहरुसँग भएको औषधि, उपकरण, सर्जिकलका सामान कानुन मिचेर सीधैँ प्रक्रियाबाट खरिद गरिदिन दबाब दिने, मन्त्रालयदेखि जिल्लामा दबाब दिन ओहोरदोहोर गर्दा बिचौलियाको गाडीमा पेट्रोलसमेत हालिदिन दबाब दिने गरेको छ । मन्त्रालयले जारी गरेको निर्देशनअनुसार बोलपत्रको प्रक्रियाबाट जाँदा व्यवसायीमाझ स्वच्छ प्रतिस्पर्धा हुने, गुणस्तरीय सामान आपूर्ति हुने र बजेटसमेतको वचत हुने भएपछि सबै सामान खरिदमा अनिवार्य बोलपत्रको व्यवस्था गरिएको मन्त्री थापामगरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*