बागमती प्रदेशमा एक खर्ब २२ अर्ब कृषिकर्जा प्रवाह
हेटौंडा- नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार नेपालको कुलगार्हस्थ्य उत्पादनमा ३६.५ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१÷८२ मा ५.२ प्रतिशतले बढ्ने अनुमान रहेको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर ३.७ प्रतिशत थियो । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासमा ढिलो मनसुनले कृषिक्षेत्रमा केही नकारात्मक असर परेको छ भने अर्कोतर्फ भदौ महिनामा जेनजी आन्दोलनको क्रममा अर्थतन्त्रमा क्षति भएको छ । तथापि, जेनजी आन्दोलनपश्चात् बनेको सरकारले शान्तिसुरक्षा, सुशासन र पुनर्निर्माणमा प्राथमिकता दिनुको साथै आर्थिक सुधारको कार्य अघि बढाएकोले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दै गएको छ ।
प्रतिवेदनअनुसार बागमती प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको भूक्षेत्र ७.५ प्रतिशतले घटेको छ । यस्ता बालीको उत्पादन ६.५ प्रतिशतले घटेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रमुख खाद्यान्नबालीमध्ये कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ भने सोही अवधिमा धान उत्पादन १.१ प्रतिशत, मकै उत्पादन ५.० प्रतिशत, फापर उत्पादन ५.१ प्रतिशत, गहुँ उत्पादन १८.५ प्रतिशत र जौ उत्पादन ३२.६ प्रतिशतले घटेको छ । आलुबालीले ढाकेको क्षेत्रफल ११.९ प्रतिशत, तेलहन बालीले ढाकेको क्षेत्रफल १९.८ प्रतिशत, दलहन बालीले ढाकेको क्षेत्रफल २४.५ प्रतिशत र भटमास बालीले ढाकेको क्षेत्रफल २६.२ प्रतिशतले घटेको छ ।
अध्ययनअनुसार तरकारी तथा वागबानी उत्पादन १६.२ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन १.२ प्रतिशत र मासु उत्पादन २.९ प्रतिशतले घटेको छ । अण्डा उत्पादन भने २.७ प्रतिशतले बढेको छ । खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा चितवनको हिस्सा सबैभन्दा बढी १३.१ प्रतिशत छ । भक्तपुरको हिस्सा सबैभन्दा कम १.७ प्रतिशत छ । तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा काभ्रेको हिस्सा सबैभन्दा बढी १९.८ प्रतिशत र भक्तपुरको हिस्सा सबैभन्दा कम १.८ प्रतिशत छ । फलफूलले ढाकेको क्षेत्रफलमा सिन्धुलीको हिस्सा सबैभन्दा बढी २८.६ प्रतिशत छ ।प्रतिवेदनअनुसार काभ्रेमा सबैभन्दा बढी २२.३ प्रतिशत दूध उत्पादन भएको छ भने रसुवामा सबैभन्दा कम शून्य दशमलव ३ प्रतिशत भएको छ ।
मासु उत्पादनमा चितवनको हिस्सा सबैभन्दा बढी १८.६ प्रतिशत र रसुवाको हिस्सा सबैभन्दा कम १.१ प्रतिशत छ । अण्डा उत्पादनमा चितवनको हिस्सा सबैभन्दा बढी ४२.२ प्रतिशत छ भने रसुवाको हिस्सा सबैभन्दा कम शून्य दशमलव १ प्रतिशत छ । माछा उत्पादनमा चितवनको हिस्सा सबैभन्दा बढी ८३.८ प्रतिशत छ । बागमती प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये ३.७ प्रतिशत कृषिक्षेत्रमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । यो प्रदेशका १३ जिल्लामा कुल १ खर्ब २१ अर्ब ७६ करोड कृषिकर्जा प्रवाह भएको छ ।







