जेनजीको मागलाई बागमती प्रदेश सरकारले गम्भीररुपमा लिएको छ : मुख्यमन्त्री बानियाँ
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी युवाले व्यवस्था परिवर्तनका लागि नभई सुशासन र पारदर्शिताको आवाज उठाएको बताएका छन् ।भक्तपुरको नगरकोटमा सुरु भएको नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलको २ दिने संयुक्त बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले हालै भएको युवाको प्रदर्शनलाई ‘आन्दोलन’ नभई भ्रष्टाचारविरुद्धको ‘माग र प्रदर्शन’का रुपमा गरिएको बताए । उनले जेनजी युवाको माग व्यवस्था परिवर्तन नभई सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्था भएको जिकिर गरे । जेनजी पुस्ताका मागलाई बागमती प्रदेश सरकारले गम्भीररुपमा लिएको र सम्बोधन गर्न ठोस कदम चालिसकेको उनको भनाई छ ।
‘धेरैले जेनजी प्रदर्शनलाई आन्दोलन भन्छन् । म यसलाई आन्दोलन भन्दिनँ’ मुख्यमन्त्री बानियाँले भने, ‘यो युवाको सुशासनको माग थियो । भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्था चल्नुप¥यो भन्ने युवाको माग हो । उक्त प्रदर्शनमा पछि घुसपैठ भयो र धनजनको क्षति भयो ।’ आगामी ३० गते बागमती प्रदेश सरकारले जेनजी पुस्ताका अगुवा र विभिन्न प्रदेशका पूर्वमुख्यमन्त्रीलाई एकै ठाउँमा राखेर ‘संघीयताका चुनौती र अवसर’ विषयमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने उनले बताए । बागमती सरकार ‘गरिवमुखी, आयमुखी, न्यायमुखी र विकासमुखी’ लक्ष्यकासाथ अघि बढेको उनले बताए ।
गरिब तथा सीमान्तकृत समुदायका छोराछोरीलाई डाक्टर र नर्स पढाउने जिम्मा सरकारले लिएको मुख्यमन्त्री बानियाँले बताए । घरबारविहीन एक हजार गरिब परिवारलाई घर बनाउन र गरिखान २ लाख रुपैयाँसम्म दिने कार्यक्रम अघि बढाएको उनको भनाई छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँले पार्टी महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक हुनुपर्नेमा पनि जोड दिए । उनले कांग्रेसको क्रियाशील सदस्यको विवाद टुंग्याएर मात्रै महाधिवेशनको मिति तय गरेर एकढिक्का भएर जानुपर्ने बताए ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचन अगाडि र निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक भएसँगै दलका नेता तथा कार्यकर्तामा अन्यौलता छाएको उनले बताए । पार्टीको केन्द्रीय बैठकमा महाधिवेशनको दुईवटा तालिका सार्वजनिक गरेर विवादमा ल्याएर कांग्रेसको अस्तित्व सिद्धिने बताउँदै मुख्यमन्त्री बानियाँले भने, ‘केन्द्रीय समिति बैठकले पहिला विधान समिति बनाओस्, क्रियाशील सदस्य छानबीन समिति बनाओस् त्यसपछि छानबीन समितिले प्रतिवेदन बुझाएको १५ दिनभित्र महाधिवेशनको मिति तोक्ने काम हुनुपर्छ, महाधिवेशन निर्वाचन अगाडि र पछाडि भनेर विवाद नगरोस् ।’
दुईदिन चल्ने बैठकले घनीभूत छलफल गरेर केन्द्रीय समितिलाई सुझाव दिने उनको भनाइ थियो । कांग्रेसलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएको उनले बताए । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेशको बैठकपछि कांग्रेसलाई एकढिक्का बनाएर लैजाने सन्देश दिँदै कांग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका कांग्रेस जिल्ला सभापतिको भेला भक्तपुरमै गर्ने तयारी गरेको बताए । बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेशसभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापति गरी १८० जनाको सहभागिता रहेको छ ।







