शारदा माविको स्वर्ण महोत्सव सकियो

साझाकुरा
२०८२ मंसिर ९, सोमबार १२:१८

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–५ धादिङमा रहेको शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका बिबिध कार्यक्रम समापन गरिएको छ । महोत्सवको समापनका अवसरमा विद्यालयको स्थापनाकालदेखि हालसम्म योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको छ । विद्यालय स्थापना भएको ५० वर्षको अवधिमा शारदा माविमा अध्ययन गरेर डाक्टरको उपाधि पाउन सफल डा. कृष्ण धिताल, डा. स्यामबहादुर छत्कुली र डा. सुमार्गी हुमागाईलाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो । यसैगरी विद्यालय स्थापनादेखि हालसम्मका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, बिभिन्नक्षेत्रमा काम गर्दै आएका पूर्वविद्यार्थी, विद्यालयको लागि देउसीभैलोमा र अरु समयमा पनि नगद तथा जिन्सी सहयोग गर्ने अभिभावक तथा पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो ।

विद्यालयको स्वर्ण महोत्सवका अवसरमा भएका प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने बिजयीलाई कार्यक्रममा सम्मान गरिएको थियो । बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई स्वागत गर्दै विगतदेखि वर्तमानसम्म विद्यालयको अवस्था र योगदानका विषयमा विद्यालयका प्रधानध्यापक इन्द्रबहादुर कार्कीले जानकारी गराएका थिए । कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्मको अवस्था झल्कने बृत्तचित्र देखाइएको थियो भने विद्यालयको स्मारिका विमोचन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*