पथलैया–हेटौंडा–नारायणगढ सडकको फागुनभित्रै टेन्डर खुलाइने
हेटौंडा-सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत पथलैया–हेटौंडा–नारायणगढ सडकको स्तरोन्नति चाँडै अघि बढाउने भएको छ ।हाल दुई लेन रहेको यस सडकलाई एसियाली विकास बैंक (एडीबी) सहुलयितपूर्ण ऋणमा चार लेनको बनाउने काम यसैवर्ष सुरु गर्न लागेको हो । ७० किलोमिटर लामो हेटौंडा–नारायणगढ सडकको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) र डिजाइन स्वीकृति अन्तिमचरणमा पुगेको छ । सडक विभाग, आयोजना निर्देशनालय (एडीबी)का निर्देशक चूडाराज ढकालले हेटौंडा–नारायणगढ सडकको ईआइए र डिजाइन स्वीकृतिको काम सँगसँगै भइरहेको जानकारी दिएका छन् । ढकालले सडकको डिजाइनको काम सकेर स्वीकृतिको चरणमा पुगेको बताए । डिजाइन सडक विभागले अध्ययन गरी सुधार गर्न सुझावसहित फिर्ता पठाएको ढकालले बताए । अब विभागको सुझाव समेटी डिजाइनलाई अन्तिम रुप दिई स्वीकृतिका लागि पुनः विभागमै पठाउने तयारीभइरहेको उनले जानकारी दिए ।
‘हेटौंडा–नारायणगढ सडकको डिजाइन बनिसकेको छ । एकपटक विभागमा पेसगरी केही सुझावसहित आएको छ । अब सुझाव समेटी स्वीकृतिका लागि केही दिनमै फेरि विभागमै पठाउने तयारी छ,’ उनले भने, ‘ईआइए स्वीकृतिको काम पनि अन्तिमचरणमा पुगेको छ ।’ आगामी एक÷डेढ महिनाभित्र डिजाइन स्वीकृति भइसक्ने आयोजनाले जनाएको छ । डिजाइन स्वीकृति भएपछि टेन्डर प्रक्रिया अघि बढ्ने ढकालले बताए । यो सडकको अनुमानित लागत करिब ५० अर्ब रुपैयाँ रहेको छ । सरकारले १०२७ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागेको छ । हालसम्म काँकडभिट्टा–लौकही (९६ किमि), कमला–कञ्चनपुर (८७ किमि), कमला–पथलैया (१३० किमि), नारायणघाट बुटवल (११४ किमि) र बुटवल–गोरुसिंगे–चन्द्रौटा (६९ किमि) को ठेक्का सम्झौता भई विस्तारको काम भइरहेको छ । चाँडै हेटौंडा–नारायणगढको पनि ठेक्का लगाउने तयारी गरेको हो ।
आयोजना निर्देशक ढकालकाअनुसार हेटौंडा–नारायणगढ सडकको विस्तारका लागि आगामी फागुनसम्म ठेक्का खुलाउने तयारी छ । विभागबाट सडकको डिजाइन स्वीकृतिपछि र एडीबीसँग ऋण सम्झौता भएर ठेक्का आह्वान गरिने उनले बताए । ‘हेटौंडा–नारायणगढ सडकको टेन्डर फेब्रुअरी (फागुन)सम्म खुलाउने तयारी छ । विभागबाट सडकको डिजाइन स्वीकृत भएपछि र एडीबीसँग ऋण सम्झौता भएर टेन्डर प्रक्रिया अघि बढ्छ,’ उनले भने । यो सडकलाई दुई प्याकेजमा विभाजन गरी ठेक्का लगाउने तयारी भएको उनको भनाइ छ । हाल ऋण सम्झौताका लागि एडीबीसँग छलफल चलिरहेको उनले बताए । सम्भवतः जनवरी भित्र सम्झौता भइसक्ने उनले बताए ।
हेटौंडा–नारायणगढ सडक सहरीक्षेत्रमा मुख्य सडक ६ लेन र दाँयाबाँया सर्भिस लेन निर्माण हुनेछ । अन्यक्षेत्रमा चार लेनको बनाइने छ । चितवनको टिकौली जंगलक्षेत्रमा २ किमि लामो फ्लाइओभर निर्माण गरिने भएको छ । यस क्षेत्रमा सवारीसाधनको ठक्करबाट वर्षेनी कयौं वन्यजन्तु मर्ने गरेकाले सुरक्षाका लागि फ्लाइओभर निर्माण गर्न लागिएको हो । यो संरक्षितक्षेत्रमा बन्ने नेपालकै पहिलो फ्लाइओभर हुनेछ । फ्लाओभर माथिबाट सवारीसाधन गुड्ने र तलबाट वन्यजन्तु आवतजावत गर्न मिल्ने गरी निर्माण गरिने छ । उनका अनुसार फ्लाइओभर ६ लेन (दुवैतर्फ ३–३ लेन) फराकिलो हुनेछ । जसमा बीचको ४ लेनमा सवारीसाधन गुड्ने र दाँयाबाँया १–१ लेनमा पैदलयात्रु र साइकललेन रहने छ ।
‘टिकौली जंगलक्षेत्रमा वन्यजन्तुलाई निकै जोखिम छ । त्यसलाई मध्येनजर गर्दै २ किमि लामो फ्लाइओभर निर्माण गर्ने डिजाइन बनाइएको छ,’ उनले भने, ‘फ्लाइओभर माथिबाट सवारीसाधन र तलबाट वन्यजन्तु आउजाउ गर्ने छन् । यसले वन्यजन्तुको सुरक्षा गर्न सहयोग पु¥याउँछ ।’ २ किमि लामो फ्लाइओभरमा कुल ६७ वटा पिलर रहने छन् । यसको लागत करिब ७ अर्ब रुपैयाँ रहेको छ । जसमा ३ अर्ब रुपैयाँ एडीबीले अनुदान दिनेछ भने ४ अर्ब नेपालले नै लगानी गर्ने तयारी छ ।







