अस्पतालको ‘बेड’बाटै पोखरेल महाधिवेशन प्रतिनिधि उम्मेदवार

१६ जना प्रतिनिधिका लागि ८० जनाको उम्मेदवारी
साझाकुरा
२०८२ मंसिर १३, शुक्रबार १२:३०

हेटौंडा- नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टीको ११ औं केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधि बन्न उम्मेदवारी दर्ता गराएका छन् ।सवारी दुर्घटनामा परेर विगत सात महिनादेखि उपचाररत् पोख्रेलले बुधवार पार्टी कार्यालय मकवानपुरमा वारेसनामामार्फत् आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौंमा उपचाररत् पोख्रेलले टेलिफोनमा कुरा गर्दै भने, ‘आउँदो ११ औं महाधिवेशनमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी बहनगर्दै मैले प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएका छु ।’अध्यक्ष पोखरेलले स्वास्थ्य सुधारोन्मुख भइरहेको जानकारी गराउँदै छिट्टै पार्टी काममा फर्किने बताए । पोख्रेलको केही दिनमा शल्यक्रियाको तयारी भइरहेको छ । त्यसअघि परिवारका सदस्यको पनि शल्यक्रिया रहेकाले आफू अस्पतालमा रहिरहेको जानकारी दिए ।

मकवानपुरको क्षेत्र नम्बर १ र २ बाट १६ जना प्रतिनिधि चयनका लागि ८० जनाले निर्वाचन प्रक्रियामा भाग लिन उम्मेदवारी दर्ता गराउँदा पोख्रेलले १ नम्बर क्षेत्रबाट मनोनयन गराएका छन् ।एमालेको ११ औ महाधिवेशन मंसिर २७ गते देखि २९ गते काठमाडौँमा हुने तयारीसँगै मकवानपुर एमालेले प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाएको हो । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ ३० जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटी संयोगक सूर्यचन्द्र न्यौपानेले जानकारी दिए । यस्तै महिलातर्फ ८ जना र युवातर्फ १० जनाले उम्मेदवारी दिएको उनले बताए ।

न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर २ बाट खुला तर्फ १६ जना, महिलातर्फ १० र युवातर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नम्बर २ बाट ८ जना निर्वाचित हुनेछन् । दलितक्षेत्र अन्तरगत १ जना प्रतिनिधिको लागि जिल्लाभरिबाट निर्वाचित हुनेछन् । क्षेत्र नं १ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना तथा क्षेत्र नं २ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना निर्वाचित हुने एमाले मकवानपुरले जनाएको छ । महाधिवेशनको लागि जिल्लाबाट १७ जना प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि चयनको लागि आगामी १३ गते निर्वाचन हुने बताइएको छ । प्रतिनिधि छनोटका लागि क्षेत्र नं १ बाट ४ हजार १०९ जना, क्षेत्र नं २ बाट ४ हजार २६४ जना र दलित क्षेत्रबाट २६२ जना मतदाता रहेको एमाले मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*