लिपुलेक–लिम्पियाधुरा समेटिएको सय रुपैयाँको नयाँनोट बजारमा
हेटौंडा-नेपाल राष्ट्र बैंक लिमिटेडले एकसय रुपैयाँको नयाँनोट मंसिर ११ गते बिहीबारबाट प्रचलनमा ल्याएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँनोट राष्ट्र बैंकले ल्याएको हो । नोट संकेत नं. २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ । ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एकसय तुरुन्त पाइने छ’ भन्ने लेखिएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, मध्यभागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्शा, मध्यभागमा अशोकस्तम्भको चित्र, दृष्टिविहीनलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ ।
नोट २ मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको केन्द्रीय बैंकले जनाएको छ । नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ । यसअघि राष्ट्र बैंकले २०७६ साल असोज ७ गतेदेखि रुपैयाँ १०० दरको बैंकनोट संकेत नं. ओ १८ ०००००१ देखि क ३७ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनेको थियो । तर, १८ ओ ०००००१ देखि १९ क १९ ०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।







