मकवानपुर एमालेका १७ प्रतिनिधि छानिए, चुनावबाट नयाँ अनुहार

साझाकुरा
२०८२ मंसिर १६, सोमबार ११:०४

हेटौंडा- नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मकवानपुरबाट १७ जना प्रतिनिधि छनोट भएका छन् ।जिल्लाको क्षेत्र नम्बर २ बाट ८ जना सर्वसम्मत भए भने १ नम्बर क्षेत्रबाट प्रतिनिधि टुंग्याउन निर्वाचन भएको थियो । क्षेत्र नम्बर २ बाट खुलातर्फ हिदम लामा, बिदुर हुमागाई, एकालाल श्रेष्ठ र बलराम बल सर्वसम्मत भएका छन् । महिलातर्फ भगवती पुडासैनी, सुमित्रा काफ्ले र गीता प्रजा तथा युवातर्फ रोहण लामा सर्वसम्मत भएका थिए । यसैगरी, मंसिर १३ गते भएको १ नम्बर क्षेत्रको निर्वाचनबाट खुलामा ४ जना, महिलामा ३ जना, युवामा १ र दलितमा १ जना गरी ९ जना प्रतिनिधिको टुंगो लागेको हो ।

निर्वाचित भएकामध्ये अधिकांश नयाँ अनुहारका छन् । निर्वाचनमा यसअघि प्रतिनिधि भइसकेका पुराना नेतादेखि पार्टी जिल्ला अध्यक्षसमेत चुनावी मैदानमा थिए । निर्वाचनबाट खुलातर्फ नवीन सिग्देल, सुनिल मोक्तान, फुर्वा दोर्जे लामा र अणराज जर्गामगर विजयी भए । उनीहरुले क्रमशः ७७६, ६८८, ५८० र ४२० मत ल्याएका थिए । महिलातर्फ आरती पाठक (९७६), सीता विष्ट बानियाँ (८०४) र विनाकुमारी थिङ (५९१), युवातर्फ बोलबहादुर कार्की (४६०) र दलित क्लष्टरबाट देवकृष्ण विकल (४९)ले जित निकालेका छन् ।

चुनावी मैदानमा पूर्वराष्ट्रियसभा सदस्यसमेत रहेका रामचन्द्र राई, पार्टी जिल्ला अध्यक्ष श्रीधर पोख्रेललगायत नेता पराजित भएका छन् । ७ महिनाअघि सवारी दुर्घटनामा परेका पोख्रेल पार्टीको नियमित काममा सक्रिय छैनन् । उनी हाल उपचारकै क्रममा काठमाडौंमा छन् । पार्टी जिल्लाको पूर्वसचिवसमेत रहेका सिग्देलका अनुसार निर्वाचित ९ जनामा मगर बाहेक सबै अनुहार पहिलोपटक महाधिवेशनमा सहभागी हुँदैछन् । २ नम्बर क्षेत्रबाट सर्वसम्मत भएका ८ जनामध्ये लामा, हुमागाईं, श्रेष्ठ र काफ्ले बाहेकका अनुहार नयाँ हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*