करवक्यौता चुलिँदैः ९५ अर्ब रुपैयाँ कर उठेन

साझाकुरा
२०८२ मंसिर ३०, सोमबार १२:०१

हेटौंडा- पछिल्ला वर्षहरुमा उठ्न बाँकी करवक्यौता चुलिन थालेको छ । आन्तरिक राजश्व विभागकाअनुसार प्रत्येक वर्षजसो बढिरहेको वक्यौता आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्ममा ब्याज, थपदस्तुर र विलम्व शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड पुगेको हो ।पछिल्लो समय कर कार्यालयहरुले निर्धारण गरेको रकम करदाताले चित्त बुझाउन छाडेका छन् भने करदाताले चित्त नबुझाउँदा उठ्न बाँकी कररकम पनि अर्बौं छ ।

विभागकाअनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाई आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रहेको पुुगेको छ । अघिल्लो बर्षमा वक्यौता संकलनतर्फ आयकरमा २२ अर्ब ७६ करोड लक्ष्य तोकिएकोमा ८ अर्ब ७१ करोड असुली भएको छ ।

यो प्रगति लक्ष्यको ३८.२९ प्रतिशत हो भने मूल्यअभिबृद्धि करतर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकोमा १० अर्ब ३३ करोड असुली गरिएको छ । जुन लक्ष्यको ६३.२८ प्रतिशत हो । वक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड उठेको छ । जुन प्रगति लक्ष्यको ७८.१ प्रतिशत हो भने मूल्यअभिवृद्धि करतर्फ भने १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड समायोजन भई १२२.६३ प्रतिशत प्रगति भएको आन्तरीक राजस्व विभागले जनाएको छ ।

कानूनी कारवाहीमार्फत असुलगर्ने लक्ष्य ४ अर्ब ३९ करोड तोकिएकोमा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड मात्र असुली भएको छ । जुन लक्ष्यको तुलनामा ४०.७७ प्रतिशत प्रगति हो । नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट करयोग्य आयआर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयं घोषणा गरी तोकिएको समयभित्र आयविवरण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

विवरण अनुसारको कर समयमै दाखिला नभएमा, कर परीक्षण तथा अनुसन्धानबाट करनिर्धारण भएमा वा अन्य कुनै कारणले आन्तरिकराजस्व कार्यालयबाट निर्धारण भएका आयकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क तथा साविकका अन्य कररकम तोकिएको समयभित्र बुझाउन नसक्दा ती रकम वक्यौता कायम हुने गर्दछ । यसरी कायम भएको वक्यौताको अभिलेख राख्ने, मासिक तथा वार्षिक कार्यालयगत बक्यौता संकलन लक्ष्य निर्धारण गर्ने, वक्यौता संकलन रणनीति तयार गर्ने, प्रगति अनुगमन गर्ने तथा कार्यालयबाट उठेका बक्यौतासम्बन्धी जिज्ञासामा स्पष्टता दिने कार्य आन्तरिक राजश्व विभागको वक्यौता शाखाले गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*