वामपन्थी शक्तिहरू सच्चिनु पर्छः नेता श्रेष्ठ

साझाकुरा
२०८२ पुष १, मंगलवार १०:४३

हेटौंडा- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन पार्टी एकता गरेको बताएका छन् ।पार्टीको सोमबार भएको थाहा नगरपालिकाको बिस्तारित एकता भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले देशलाई समृद्ध बनाउने उद्देश्यले पार्टी एकता गरिएको उल्लेख गर्दै क्रान्तिकारी उद्देश्य प्राप्तिका लागि हरहालतमा अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता औंल्याए । उनले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामा आच आउन नदिन राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले हालको पार्टी एकता ऐतिहासिक भएपनि पूर्ण नभएको उल्लेख गरे । समाजवादको दिशातर्फ अग्रसर हुन अन्य वामपन्थी शक्ति सच्चिएर आए सबैलाई एउटै केन्द्रमा समेट्नुपर्नेमा उनले जोड दिए । वर्तमान एकतालाई प्रारम्भिक बिन्दुका रुपमा लिनुपर्ने उनको धारणा छ ।

नेता श्रेष्ठले सत्यनिरुपण तथा बेपत्ता छानबीन आयोगको काम अझै बाँकी रहेको भन्दै द्वन्द्वपीडितलाई न्याय दिलाई समग्र शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए । त्यसैगरी नेकपा नेतृ मुनु सिग्देलले जेनजी आन्दोलनपछि संविधान नै खारेज हुने अवस्थासम्म पुगेको बेला पार्टीका दुई नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको पहलमा संविधान जोगिएको दाबी गरिन् । उनले संविधान जोगाउन आफ्नो पार्टीले खेलेको भूमिकालाई आमजनतामाझ पु¥याउन कार्यकर्तालाई आह्वान गरिन् ।

नेता रामनारायण बिडारीले पञ्चायतकाल र बहुदलीय कांग्रेस–एमाले शासनकालमा आक्रमणमा नपरेको आफू गणतन्त्र आएपछि आक्रमणमा परेको अनुभव सुनाउँदै सत्य र सहीको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरे । नेकपा थाहा नगरका संयोजक बिनोदकुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु प्रदेशसभा सदस्य कुमारी मोक्तान, जिल्ला समन्वय प्रमुख ललित घलान, थाहा नगरप्रमुख विष्णु बिष्ट ‘आदर्श’, थाहा नगरपूर्वप्रमुख लवशेर बिष्ट, सानुकाजी गोपालीलगायत नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*