मकवानपुरबाट ओलीपक्षमा ४ र पोखरेलपक्षमा २ जनाको उम्मेदवारी
हेटौंडा- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा मकवानपुरबाट ४ जनाको उम्मेदवारी रहेको छ ।जसमा बागमती प्रदेश भुगोलतर्फको केन्द्रीय सदस्यमा रामेश्वर राना, आदीबासी जनजाति तर्फको केन्द्रीय सदस्यमा एकालाल श्रेष्ठ, खुला (युवा) तर्फबाट महेश बर्तौला र खुला महिलाकोटाबाट भारती पाठक ओली प्यानलको केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । राना, बर्तौला र पाठक पुनः केन्द्रीय सदस्यमा दोहोरिन लागेका हुन् भने श्रेष्ठ एमाले बागमती प्रदेश कमिटी सदस्यबाट केन्द्रीय कमिटीमा डेब्यु गर्न लागेका हुन् ।
त्यसैगरी ईश्वर पोखरेलको प्यानलमा मकवानपुरबाट २ जनाको उम्मेदवारी रहेको छ । गत मंसिर २७ बाट सुरु भएको महाधिवेशनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट अणराज जर्गामगर, नवीन सिग्देल, फुर्वादोर्जे लामा, सुनिल मोक्तान, आरती पाठक, विना कुमारी थिङ, सीता विष्ट र बोलबहादुर कार्की प्रतिनिधि चयन भएर काठमाडौं पुगेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट हिदम लामा, एकालाल श्रेष्ठ, बलराम बल, भगवती पुडासैनी, रोहण लामा, सुमित्रा काफ्ले, विदुर हुमागाईँ, गीता काफ्ले र देवकृष्ण विक निर्विरोधरुपमा प्रतिनिधि चयन भएर हाल महाधिवेशन स्थलमा प्रतिनिधिको रुपमा पुगेका छन् ।
मकवानपुरबाट कृष्ण दाहाल खुल्ला सदस्य र दिलकृष्ण बिक दलित सदस्यको उम्मेदवार बनेका हुन् । नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर आमनेसामने भएका छन् । नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ ।







