एमाले केन्द्रीय सदस्यमा मकवानपुरबाट ५ जना विजयी
हेटौंडा- मकवानपुरबाट ५ जना नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न नेकपा एमाले ११ औँ महाधिवेशनको अन्तिम चुनावी मतपरिणाममा केन्द्रीय सदस्यमा भारती पाठक, रामेश्वर राना, महेश बर्तौला, एकालाल श्रेष्ठ र नवीन सिग्देल विजयी भएका हुन् ।एमाले अध्यक्ष केपी शर्माओली प्यानलमा रहेका ५ जनाले निर्वाचनमा जित निकालेका हुन् भने चुनावी प्रतिस्पर्धामा रहेका २ जना पराजित भएका छन् । मकवानपुरबाट केन्द्रीय सदस्यमा ७ जनाको उम्मेदवारी रहेकोमा कृष्ण दाहाल र देवकृष्ण विक पराजित भएका छन् ।
पराजित भएका दाहाल र विक ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका थिए । बागमती प्रदेशसभाकी सदस्यसमेत रहेकी पाठकले (महिला) क्लस्टरबाट केन्द्रीय सदस्यमा जित निकालेकी हुन् । उनले १ हजार ९१५ मत प्राप्त गरेकी छन् ।पूर्वसांसद एवम् एमालेका मुख्यसचेतक महेश बर्तौलाले खुला क्लस्टरमा उम्मेदवारी दिएर जित निकालेका छन् । उनले १ हजार ५२९ मत प्राप्त गरेका छन् भने नेकपा एमाले मकवानपुरका इन्चार्ज रानाले बागमती प्रदेश भूगोल तर्फको खुल्ला क्लस्टरमा केन्द्रीय सदस्यमा जित निकालेका छन् । उनले १ हजार ४९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले केन्द्रीय सदस्यमा आदिवासी जनजाति खुल्ला क्लस्टरमा जित निकालेका हुन् । उनले १ हजार ५०९ मत प्राप्त गरेका छन् भने हेटौंडा–४ का वडाअध्यक्ष समेत रहेका सिग्देलले केन्द्रीय लेखा आयोग सदस्यमा जित निकालेका छन् ।सिग्देलले कुल १ हजार ६१४ मत ल्याएर विजयी भएका हुन् । लेखा आयोग सदस्यमा निर्वाचित भएका सिग्देल एमाले मकवानपुरका पूर्वसचिव हुन् ।
यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिएका रामेश्वर राना, भारती पाठक केन्द्रीय सदस्य रहेका थिए । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय पदाधिकारी हारेका उम्मेदवारले केन्द्रीय सदस्यमा जित निकालेका छन् । केन्द्रीय पदाधिकारी उपाध्यक्षमा हारेकी बिन्दा पाण्डेले केन्द्रीय सदस्यमा जित निकालेकी छिन् भने सचिव पदमा हारेका गोकुल बास्कोटा र रचना खड्काले केन्द्रीय सदस्यमा भने जितेका हुन् ।
पाण्डेले उपाध्यक्ष पदमा ९२१ मत प्राप्त गर्दा केन्द्रीय सदस्य पदमा १ हजार १२१ मत ल्याएकी छिन् । उनले केन्द्रीय सदस्य खुल्ला क्लष्टरमा आवश्यक ७२ पदमध्ये ५९ औँ स्थानमा रहेकी छिन् । त्यस्तै सचिवमा १ हजार ३० मा पाएर पराजित भएका बास्कोटाले खुल्ला केन्द्रीय सदस्यमा ४८ स्थानमा रहेर १ हजार १९५ मत पाएका छन् भने सचिव पदमा हारेकी खड्का ५७ स्थानमा रहेर १ हजार १२४ मत पाएकी छिन् ।







