सक्रिय राजनीति छाड्ने लम्सालको घोषणा

साझाकुरा
२०८२ पुष ८, मंगलवार १२:३१

हेटौंडा-नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बद्रीप्रसाद लम्सालले सक्रिय राजनीति छाडेर स्वतन्त्र रहने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत् आफ्नो इतिहास उल्लेख गर्दै लम्सालले सक्रिय राजनीति र पार्टीबाट बिदा लिने घोषणा गरेका हुन् ।उनले राजनीतिमा लाग्दाका क्षणबारे उल्लेख गर्दै पार्टीमा गुटबन्दी गर्नुभन्दा स्वतन्त्र हुनु बेस भएको बताएका छन् । लम्सालले अब नयाँ व्यक्तित्वलाई दलमा सक्रिय हुने मौका दिनुपर्ने विचारले राजनीतिबाट बिश्राम लिन चाहेको बताए ।

राजनीतिक दलमा आबद्धता नजनाए पनि सामाजिक क्षेत्रका काममा भने सक्रिय नै रहने उनले बताए । लम्सालले राजनीतिक यात्रा २०३७ सालमा अनेरास्ववियुमा संगठानिक जीवन सुरुगर्दै विद्यार्थी संगठन, युवा संघ र किसान संगठनको जिल्ला नेतृत्वमा काम गरेको बताउँदै, त्यसपछिका वर्षमा पार्टी कमिटीका विभिन्न तहमा जिम्मेवारी बहन गर्दै जिल्लाको नेतृत्वसम्म पुगेको बताएका छन् ।

उनले २०३७ देखि २०६३ सम्म सबै आन्दोलन र अभियानमा सक्रिय अग्रभागमा रहेर लागेको बताए । उनले विगतमा पार्टीभित्रबाट बिचलन गराउने प्रयास भएपनि अविचलितरुपमा जिम्मेवारी पूरा गर्दै आएको र हाल एक वर्षदेखि एउटै प्रकारको भूमिका मात्र निभाउनुपरेको, जसका कारण नयाँ अवसर नपाउनु र जिम्मेवारीको मूल्यांकन नहुनु जस्ता चुनौतीले उनलाई पार्टीबाट अलग हुने निर्णयमा पु¥याएको बताएका छन् ।

लम्सालले आफ्नो निर्णयको कारण प्रष्ट पारेका छन्–राजनीतिक सक्रियता भनेको स्वेच्छिक र अन्तरमनबाट उत्पन्न हुनुपर्ने कुरा हो । अब उनी स्वतन्त्र रुपमा जीवनयात्रा अगाडि बढाउने तयारीमा छन् ।उनले सबैसँग सहकार्य जारी राख्ने र पार्टीले दिएको अवसरप्रति आभार व्यक्त गर्ने बताएका छन् । लम्सालले २०५४ सालदेखि २०५९ सम्म तत्कालीन जिल्ला विकास समितिको उपसभापति हुँदै एमालेबाट २०६४ मा संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । उनी तत्कालीन सुकुम्बासी आयोगको अध्यक्ष रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*