बस्तीको बीचबाट सडक विस्तार गर्नु गलतः दुर्गा प्रसाई

साझाकुरा
२०८२ पुष २५, शुक्रबार १२:०६

हेटौंडा-नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बस्तीको बीचबाट सडक विस्तार गर्नु कुनैपनि हालतमा सही नभएको बताएका छन् ।हेटौंडाको मुख्य राजमार्ग बाइपास हुँदै लैजानुपर्नेमा सरकारले बस्ती नै उठिबास गराउने शैली अपनाएको आरोप उनले लगाए । हेटौंडामा बिहिबार आयोजित बृहत् भेटघाट तथा नागरिक जागरण अभियानलाई सम्बोधन गर्दै प्रसाईंले विश्वका कुनै पनि देशमा बस्तीको बीचबाट राजमार्ग विस्तार गर्ने प्रचलन नरहेको उल्लेख गरे । बाइपासबाट लगेकोे भए घरधनी र व्यवसायीले यति ठूलो क्षति व्यहोर्नु नपर्ने उनको भनाइ थियो । जिम्मेवार सरकार र नेतृत्वको अभावका कारण हेटौंडाका सडक विस्तार प्रभावितले क्षतिपूर्ति नपाउने अवस्था आएको उनले दाबी गरे ।

प्रसाईंले सडक विस्तारका कारण व्यवसायी दोहोरो मारमा परेको बताए । एकातिर सडक विस्तारले व्यवसाय विस्थापित भएको र अर्कोतर्फ बैंकको उच्चब्याजदरले आर्थिक भार थपिएको उनको भनाइ थियो । हेटौंडाका अधिकांश व्यवसायी अहिले गम्भीर आर्थिक समस्यामारहेको उनले उल्लेख गरे ।सडक विस्तार प्रभावितले क्षतिपूर्ति पाउन ठूलो आन्दोलन नगरी सम्भव नहुने प्रसाईले दाबी गरे । प्रसाईँले जेनजी आन्दोलनमार्फत् जनताले महसुश गर्ने खालको परिवर्तन नआएको उल्लेख गर्दै देशका लागि लड्नुपर्ने समय आएको बताए । यसका लागि फागुन १ गते देशव्यापी आन्दोलन गर्न लागिएको उनले बताए ।

प्रसाईले अहिलेको आवश्यकता चुनाव नभएको बताए । जेनजीको आन्दोलनलाई हाइज्याक गरेर वर्तमान सरकार गठन भएको उनको धारणा छ । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार पश्चिमाको डिजाइनमा बनेको आरोप लगाए । पश्चिमाहरुले आफनो इशारामा चल्ने व्यक्तिलाई नेपालमा प्रधानमन्त्री बनाउन खोजेको उनले जिकिर गरे । नेपाललाई युक्रेन बनाएर धेरै जेलेन्स्कीहरु जन्माउने दुष्प्रयास भइरहेको भन्दै त्यसतर्फ रहनुपर्नेमा प्रसाईले जोड दिए । उनले देशका लागि निर्णायकरुपमा लड्नुपर्ने समय आएको बताए । प्रसाईँले आगामी २१ फागुनमा गर्ने भनिएको निर्वाचन बहिष्कार गर्न पनि उनले आव्हान गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*