एजेण्डाको हिसाबले कांग्रेस र एमालेसँगै छ : सचिव बस्नेत
हेटौंडा-नेकपा एमालेका सचिव महेश बस्नेतले कांग्रेस र एमाले एजेण्डाको हिसाबले सँगै रहेको बताएका छन् ।आइतबार हेटौंडा–४ स्थित भुटनेदवी माध्यमिक विद्यालय परिसरमा राष्ट्रियसभा सदस्यमा निर्वाचित सदस्यलाई बधाई दिए पश्चात् सञ्चारकर्मीसँंग कुराकानी गर्दै उनले आउँदो चुनावमा कांग्रेस र एमाले एकअर्काको प्रतिस्पर्धी भएपनि एजेण्डा र मुद्दाको हिसाबले दुबै पार्टीसँगै रहेको जिकिर गरे । लोकतन्त्र र संविधान नै खतरामा परिरहेको अवस्थामा कांग्रेस र एमालेले मित्रवत् प्रतिस्पर्धा गरिरहेको उनको भनाई छ । सचिव बस्नेतले बाह्यशक्तिलाई सहयोग पुग्ने गरी पुराना दलहरु विरुद्ध जनमत सिर्जना गर्ने प्रयास भइरहेको टिप्पणी गरे ।
उनले अहिले नयाँ शक्तिले पुराना दलहरुले जनताको लागि केही गरेनन् भन्ने भ्रम फिजाउँदै गलत भाष्य निर्माण गरेको उल्लेख गरे । विकल्प भनिएका शक्ति पुराना दलबिरुद्ध सामाजिक सञ्जालमार्फत नकारात्मकता फैलाउनमात्र उद्यत भएको उनले आरोप लगाए । सचिव बस्नेतले युवापुस्तालाई दिग्भ्रमित नहुन आग्रह गरे । युवा राष्ट्र निर्माणको बाहक भएकोले गलत भ्रममा लाग्न नहुने उनको भनाई छ । युवाको भावनामाथि खेलेर देश नै जलाउने तत्वविरुद्ध सतर्क हुनुपर्ने सचिव बस्नेतले बताए । युवाले चाहेको विकास र समृद्धि विगतदेखि नै भएको दाबी गर्दै उनले आगामी चुनावपछि विकासले थप गतिलिने बताए । सचिव बस्नेतले एमालेले महाधिवेशन लगायतमा प्रतिनिधि सभा सदस्य चुनावमा युवालाई स्थान दिएको बताए ।







