‘मुलुकको नेतृत्व युवापुस्ताको काँधमा’
हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले आगामी फागुन २१ गते हुन गैरहेको निर्वाचनको सन्दर्भमा कार्यकर्ता भेटघाट अभियानलाई तीव्र पारेको छ । यसैक्रममा मकवानपुरको भैंसेमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उम्मेदवारले कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन् । छलफलमा बोल्दै नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री एवं मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले पार्टीले समावेशितालाई उच्चप्राथमिकतामा राखेको बताइन् । ‘नेपाली कांग्रेस सबै जाति, धर्म र समुदायको सम्मान गर्ने पार्टी हो । हामीले युवाशक्तिको प्रतिनिधित्व गर्दै गगन थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेका छौं’ उनले भनिन् ।
यस्तै, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाले अबको मुलुकको नेतृत्व युवापुस्ताको काँधमा आएको बताए । ‘अन्तर्राष्ट्रियरुपमा समेत सर्वस्वीकार्य नेता गगन थापालाई प्रधानमन्त्री बनाउन हामी चुनावमा होमिएका छौं, लामाले भने, ‘जनतालाई सुखशान्तिको अनुभूति गराउन र तीव्र विकासका लागि अब गगनलाई प्रधानमन्त्री बनाउनु अपरिहार्य छ ।’ कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा दाहालले मकवानपुरको समग्र विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आह्वान गरिन् ।
नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार शर्मिला श्रेष्ठ, जिल्ला सचिव ईश्वर पाठक, जिल्ला कार्यसमिति मकवानपुरको अनुशासन समिति संयोजक प्रभात दाहाल, भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि निलम देवकोटा, निर्वाचन परिचालन मुल समितिका सदस्य यतीराज सापकोटालगायतको उपस्थिति रहेको थियो ।नेपाली कांग्रेस वडा नम्बर ५ का सभापति अंकित पुडासैनीको मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी ११ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।







